राजा महेन्द्रले सत्ता हातमा लिएपछि दलहरूले स्वतन्त्र रुपमा गतिविधि गर्न पाउँदैन थिए । तर, विभिन्न क्याम्पसमा विद्यार्थी संगठनले आफ्ना गतिविधि गर्थे । सानैदेखि हक्की स्वभाव र कांग्रेस पृष्ठभूमिकी विराटनगरकी कार्की २०२५ सालमा एसएलसी उत्तीर्णपश्चात थप अध्ययनका लागि महेन्द्र मोरङ क्याम्पसमा भर्ना भएकी थिइन् । दलका आधिकारिक विद्यार्थी संगठन नबन्दै उनी सोही साल क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको छात्रा प्रतिनिधिको रुपमा उम्मेदवार बनिन् ।
उनी उम्मेदवार बनेको दुई वर्षपछि मात्रै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को विधिवत् दर्ता भएको थियो । त्यसको केन्द्रीय सदस्य थिए, रामचन्द्र पौडेल । त्यो बेला विद्यार्थीले पनि सांगठनिक अभिव्यक्ति दिन पाउने भएका थिए । त्यो बेला राजनीतिक दलमाथि प्रतिबन्ध थियो । पञ्चायतको गुणगान गाउने त्यो बेलामा ‘गाउँ फर्क अभियान’ले थप चर्चा पाएको थियो ।
कार्कीले आफ्नो आत्मकथा ‘न्याय’मा २०२७ सालमा पौडेल एउटा झोला बोकेर संगठन विस्तारका लागि विराटनगर पुगेको र उनैबाट सदस्यता लिएर विधिवत् रुपमा नेविसंघमा आवद्ध भएको खुलाएकी छिन् ।
सदस्यता प्रप्तपश्चात विराटनगर बार अड्डामा एउटा गोदाम घरमा नेविसंघको कार्यालय स्थापना गरी नेपाली कांग्रेस आस्थावानलाई गोलबन्द गर्ने कार्यमा जुटिन् र तत्कालीन पञ्चायतविरुद्धका गतिविधिमा सक्रिय भइन् ।
गुप्तचर विभागको त्यो सूचनाले इलाहवाद पुर्यायो
उनी तत्कालीन राज्यसत्ताविरुद्धका गतिविधिमा सक्रिय भएको धेरैलाई थाहा थियो । चैत २०३० सालमा कार्कीले विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट बीएको प्रमाणपत्र लिएर स्नातकोत्तर अध्ययनका लागि काठमाडौं जाने सोच बनाइन् । तर, उनको सोचमा गुप्तचर विभागको सूचनाले ठेस लगाइदियो ।
प्रशासनले उनलाई पक्राउ गर्नेको सूचीमा राखेको थाहा पाएपछि उनको पाइला भारतको इलाहवाद विश्वविद्यालयतर्फ मोडियो । उनी त्यहाँ पुगेर मनोविज्ञानमा स्नातकोत्तर पढ्न चाहन्थिन् तर त्यहाँ पुग्दा सो विषयमा भर्ना गर्ने समय नाघिसकेको थियो ।
बीपीसँगको सानिध्यता
विराटनगरमा कोइराला निवासको रापतापसँग परिचित र बुबाको कांग्रेस पृष्ठभूमिले उनलाई भारतमा पनि कोइराला परिवारसँग नजिक बनायो । महेन्द्रले दलहरू प्रतिबन्ध गर्दै तत्कालीन निर्वाचित प्रधानन्त्रीलाई अपदस्थ गरे पनि नेपालबाट बीपी परिवारसहित निर्वासन थिए । उनले सारनाथमा ठूला घर भाडामा लिएर बसेका बीपी परिवासँग परिवारको सदस्यको रुपमा माया ममता पाएर बस्न पाइन् ।
उनले बनारस हिन्दु विश्वविद्यालय (बीएचयू)मा भर्ना पाइन्, त्यो पनि मुस्किलले । त्यहाँ पनि समयावधि नाघिसकेको हुँदा बीपीले नै भनसुन गरेर भर्ना गरिदिएका थिए, तर राजनीतिक शास्त्रमा । बीपीले भने सुशीलालाई अर्थशास्त्र पढ्न सुझाएको उल्लेख गरेकी छिन् ।
बीपीलाई धेरैले ‘सान्दाजु’ भन्थे । उनले सोही नामले बोलाउँथिन् । बीपीकी पत्निको नाम पनि सुशीला भएको हुँदा बीपीले उनलाई ‘सानी सुशीला’ भनेर बोलाउँथे ।
त्यहीँ रहँदा उनको प्रदीप गिरीसँग पनि भेट भइरन्थ्यो । उनको हक्की स्वभाव देखेर गिरीले आफ्नो नाम ‘हिम्मतवाली’ राखिदिएको कार्कीले बताएकी छिन् । त्यहीँ बस्दा उनले कम्युनिस्ट नेता पुष्पलालसँग भेटिनन् मात्रै कुराकानी गर्ने मौका समेत पाइन् ।
उनले गिरीजाप्रसाद कोइरालासँग भारतमा रहँदाको प्रशङ्ग पनि उल्लेख गरेकी छिन् । पार्टी कामकै सिलसिलामा गिरीजालाई दाइ बीपीले अंग्रेजी भाषामा पत्र लेख्न लगाउँदा गल्ती भएको र आफूले सच्याइदिँदा गिरीजालाई गाली गरेको प्रशङ्ग पनि बुकहिलले प्रकाशन गरेको कार्कीको किताबमा उल्लेख छ ।
उक्त किताबमा बीपीबारे कार्कीले लेखकी छिन्, ‘सारनाथमा मैले धेरैथोक सिकेँ । सान्दाजुको सानिध्यमा बसेर राजनीतिक चेतना बढाउने मौका पाएँ । प्रजातन्त्रप्रति निष्ठावान् योद्धाहरूको संगतले त्यस्तै निष्ठावान् र कर्मठ हुन सिकेँ ।’
उनी बीपी परिवारसँग भारतमा दुई महिना बसिन् । असार २०३१ देखि भदौ २०३१ सम्म बीपीको सानिध्यमा बसेपछि उनी बीएचयूको होस्टलमा बसिन् । सारनाथबाट विश्वविद्यालयको होस्टल पुर्याउन बीपीले ड्राइभरसहित आफ्नो गाडी उपलब्ध गराएका थिए ।
उनले क्याम्पसमा पनि राजनीतिक गतिविधिमा सक्रिय हुने अवसर पाइन् । नेपाली कांग्रेसका परिचित कार्यकर्ता शिव कङ्गाललगायतसँग विभिन्न राजनीतिक कार्यक्रममा सहभागी भइन् । उनले त्यहाँ पढ्दा कांग्रेसका नेता–कार्यकर्तासँग मात्रै होइन, कम्युनिस्ट पृष्ठभूमि भएका व्यक्तिहरूसँग पनि संगत थियो । तर, उनको हक्की स्वभाव देखेर धेरैले ‘कमरेड’ भन्थे । उनले तत्काल जवाफ फर्काउँथिन्, ‘म त प्रजातन्त्रवादी हुँ ।’
उनको राजनीतिक पृष्ठभूमि र चेतबाट प्रभावित साथीहरू तुरुन्तै भन्दिहाल्थे, ‘तिमी नेपालमा प्रजातन्त्रवादी हौली । यहाँ त हाम्रा निम्ति तिमी कमरेड नै हौ ।’
उनले बीएचयूमा राजनीतिशास्त्रमा एमए मात्रै पढिनन् । पढ्दै जाँदा उनलाई कानुन पनि पढ्ने रहर जाग्यो । २०३२ सालमा एमए पास गरिसकेकी थिइन्, सँगै बीएल पनि पढिन् । नेपालबाट प्राइभेटमा परीक्षा दिने गरी बीएलमा भर्ना भइन् । नेपालमा बीएलको अन्तिम जाँच दिए पनि उनका राजनीतिकशास्त्रका प्राध्यापक डा. शरणले पीएचडी गर्ने सल्लाह दिए । उनलाई पीएचडको हुटहुटीले पुनः बरानस पुर्यायो । तर, त्यसपछि उनको जीवनमा नमिठो घटना भयो । सोही घटनाले उनलाई छोरीसरह प्रेम गर्ने बीपी परिवार र कांग्रेस राजनीतिबाट सदाका लागि टाढा गरायो ।
बीपीले पञ्च सरकारको सीआइडी भनेपछि...
नेपालको बीएलको समेत परीक्षा सकाएर उनी बनारस पीएचडीका लागि पुगेकी थिइन्, उनै राजनीतिकशास्त्रका प्राध्यापक डा. शरणको सहयोगमा । तर, उनी पुग्दा शरण विश्वविद्यालयमा थिएनन् । एमए पढेका साथीहरू कलेज बिदाको सदुपयोग गर्दै दिल्ली घुम्न जान बनाएको योजनामा उनी पनि सामेल भइन् ।
पहिलोपटक दिल्ली पुगेकी उनले ताजमहललगायतका ठाउँ घुमेर १० दिनपछि बनारस फर्किन् । उनको हुटहुटी थियो, आफ्ना बाबुसरहका बीपीलाई ‘पीएचडी गर्दैछु’ भन्ने खबर सुनाउने ।
उनी हुर्रिएर सारनाथ पुग्दा दृश्य फरक पाइन् । उनलाई शत्रुलाई झैँ हेरियो । सबैले पराईजस्तै गरे । कसैले राम्रोसँग बोलेनन् । बीपी सोही भाडाको घरको माथिल्लो तलामा थिए । उनी त्यहीँ पुगिन्, बीपीले ‘बस्’ भन्ने इसारा गरे । र, मौनता तोड्दै भने– ‘तिमी त कता हो कता आजभोलि दिल्लीमा नेपाली राजदूतावास धाउँछौ रे ! हामीले त हाम्री छोरीजस्तै ठानेर विश्वास गरेका थियौँ । तिमीले धोका दियौँ । यस्तो धोका दिने मान्छे यहाँ किन आउनु ? तिमी अबदेखि नआऊ ।’
कल्पनासम्म नगरेको वचनले कार्की छाँगाबाट खसेजस्तो भइन् । ‘हवस्’ मात्र भनेर उनी उठिन् र नमस्कार गरेर निस्किन् । भर्याङबाट झर्दै गर्दा नोनो आमाजस्ती कोइरालासँग भेट भए पनि नमस्कारसमेत नफर्काएको नमिठो घटना उनले किताबमा उल्लेख गरेकी छिन् । ‘पीएचडी गर्दैछु भनेर उहाँलाई सुनाउन गएकी थिएँ । सीआइडीको उपाधि पाएर पो फर्किएँ’, उनले लेखेकी छिन् ।
उनीविरुद्ध त्यो बेला कांग्रेसभित्र भ्रम फैलाइयो– ‘कार्की पञ्च सरकारको सीआइडी हुन् । उनको संगत नगर्नु ।’
१८ फागुन २०३२ मा पीएचडीका लागि बीएचयूमा नाम दर्ता गराइसकेकी कार्कीले आफू माथिको आरोप प्रदीप गिरीलाई सुनाएकी थिइन् । उनले आश्चर्य मान्दै भनेका थिए, ‘आम्मै, तिमी सीआइडी भयौ ! हो र ?’ त्यो बेला एकअर्कालाई खुब आरोप लगाइन्थ्यो ।
१ पुस २०३१ मा सोलुखम्बुको तिङगला गाउँको टिम्बुरबोटे जंगलमा सरकारी दमनमा परी कांग्रेसका १३ जना स्वतन्त्र सेनानीहरूको हत्या भएको थियो । जहाँ विराटनगका चर्चित व्यक्तिहरू राम–लक्षमण पनि थिए । उनीहरूलाई समेत सीआइडी भनेर बीपीले हत्या हुनु केहीअगाडि बनारस पुग्दा भेट दिएका थिएनन् । तीनपटकसम्म भेट्ने प्रयास असफल भएपछि विराटनगर पढ्दाका सहपाठी सुशीला कार्कीमार्फत बीपीलाई भेट्न खोजेका थिए ।
उनीहरू बीपीले नेतृत्व गरेको शसस्त्र क्रान्तिका योद्धा थिए । तिनीहरूजस्तालाई समेत सीआइडीको आरोप लगोको प्रशङ्गसमेत कार्कीले आफ्नो किताबमा उल्लेख गरेकी छिन् ।
सोही सीआइडीको आरोपपछि उनले राजनीतिज्ञ बन्ने लक्ष्य र जीवनको गोरेटो मोडेकी थिइन् । तर, आज नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भइन् । संयोग २०२७ सालमा जसले पार्टी संगठनका निम्ति सदस्यता दिएको थियो, उनै राष्ट्रपति भएकै बेला प्रधानमन्त्री पदको शपथ लिएर नेपाली राजनीतिमा पहिलो महिला कार्यकारी प्रमुखको रुपमा नाम लेखाउन सफलन् भइन् । शिलापत्रबाट