अम्रिताको मुहारमा बाख्राले फर्काएको खुशी

khaptadpress.com

शिवराज खत्री
अछाम।
श्रीमती र छोराछोरीको नाङ्गो शरीर ढाक्न र भोको पेट भर्न धन कमाउन भारत गएका श्रीमान उतै अस्ताएपछि अम्रिता टमट्टाको जिन्दगीमा निकै ठूलो बज्रपात आइलाग्यो। दुई वटा नाबालक छोराछोरी र श्रीमतीलाई घरमै छोडेर रोजगारीको खोजीमा भारत गएका मेल्लेख गाउँपालिका-६ षोडशाको नवाघर टोलका र‌ंग टमट्टा उतै अस्ताएको ११ वर्ष वितिसक्यो।

श्रीमानले घर र संसार छोडेको जति लामो समय भयो त्योभन्दा लामालामा अम्रिताका दु:खका कथाहरु छन्। नत उनीसँग कुनै आयस्रोत नत कोही सहयोग गर्ने अगाडि पछाडि मानिस नै थिए। दुई नाबालक सन्तान र आफ्नो जीवनयापन गर्न अम्रिताले दु:खका ठूलठूला पहाडहरु छिचोल्नु पर्यो। 'श्रीमान भारत गएको केही महिनामै वितेको खबर आयो, नत कुनै आयस्रोत नत कुनै सहयोग गर्ने मानिस नै थिए, छोराछोरी र आफ्नो पेट पाल्न निकै दु:ख गर्नुपर्यो', अम्रिताले विगतका दिनहरु सम्झिइन्।

जंगलको निगुरो टिपेर बेच्ने देखि अरुको ज्याला मज्दुरी गरेर छोराछोरीको शिक्षादिक्षा र लालनपालन गरेकी उम्रिताका ती दुःखका दिनहरु भने विस्तारै टाढाटाढा भागेका छन्। तीन आमाछोराको शरीर ढाक्न र पेट पाल्न उनलाई सुरुका दिनमा जसरी दुःख कष्ट गर्नु पर्यो त्यो अवस्था भने अहिले हटेको छ। उनले करिब साढे ४ वर्ष पहिलेदेखि सुरु गरेको बाख्रापालन व्यवसायले छोराछोरीको शिक्षादिक्षा, लालनपालन तथा घर खर्च जुटाउन निकै सहज बनाएको छ।

बाख्रा बेचेर नै उनले छोरालाई ओभरसिएर र छोरीलाई ९ कक्षासम्म पढाएकी छिन्। 'छोरालाई थप अध्ययन गर्न काठमाडौं पठाएकी छु, आधार भनेका यिनै बाख्रा हुन्', अम्रिताले खप्तड प्रेससँग भनिन् ,'बाख्रा नै मेरो परिवारका लागि जिउने आधार बनेका छन्।' उनले ४ वटा बाख्राबाट सुरु गरेको बाख्रापालन व्यवसाय सुरु गरेकी थिइन्। अहिले उनीसँग १३ वटा बाख्रा छन्। एक समय १८ सम्म पुगेका थिए। 

उनले साना ठूला गरि २५-३० जति बोका बाख्रा विक्री गरिसकेको सुनाइन्।  'जतिबेला समस्या पर्छ त्यतिबेला विक्री गरिहाल्छु, सानोतिनो समस्याका लागि कसैलाई हात थाप्नु परेको छैन', उनले भनिन्,'एकै बेतमा चारवटा सम्म पाठापाठी पाउछन् मेरा बाख्राले।'

वल्डभिजन र वाक नेपालद्वारा संचालित उत्थानशिल जीविकोपार्जन पोषण परियोजनाले सहयोग गरेका बाख्राबाट नै अम्रिताले व्यवसाय सुरु गरेकी हुन्। परियोजनाले पाँचवटा बाख्रा दिएकोमा केही महिनापछि सबैभन्दा ठूलो एउटा बाख्रा गाउँकै कसैले मारिदियो। उनले बाख्रा पाएको रिस गर्ने गाउँमा केही मानिसहरु थिए, उनीहरुले नै मारेको आशंका गरियो तर व्यक्ति भने पत्ता लागेन।

सबैभन्दा ठूलो बाख्रा मरेपछि अरु बाख्रा पनि जोगाउँन सकिँदैनकी भन्ने पिरमा उनी थिइन्। निरन्तरको मिहेनत र भाग्यले साथ दिएपछि अहिले बाख्रापालन व्यवसायबाट राम्रै आम्दानी भइरहेको उनले सुनाइन्। श्रीमानको मृत्यु भएपछि एकल महिलालाई गाउँलेले सहयोग गर्नुकोसाटो उल्टै अन्त पोइल गइहाल्छे होला भन्दै कुरा काट्ने र पाइला पाइलामा असहयोग गर्ने छिमेकीहरुका मुख अहिले बाख्रापालन गरेर छोराछोरी पढाएको देख्दा आफै बन्द भएका छन्।

'मेरो बहिनी पनि यसै गाउँमा बिहे गरेकाले मलाई निकै सहयोग मिल्यो, आफ्नो त घर पनि थिएन, सुरुमा बहिनीकै गोठमा राखेर बाख्रा पाले, अहिले खोर बनाएपछि थप सजिलो भएको छ,'अम्रिताले भनिन्।' करिव २५ बाख्रा अटाउने खोर पनि सोही परियोजनाको सहयोगमा भर्खरै निर्माण गरिएको हो। जीविकोपार्जनका लागि संस्थाले गरेको सहयोगको सही सदुपयोग गरेर राम्रो प्रतिफल प्राप्त गर्नेमा अम्रिता उदाहरणीय बनेको परियोजना अधिकृत यज्ञराज खनालले बताए।

परियोजनाको अनुगमन

वल्डभिजनको सहयोगमा आस्था नेपालद्वारा मेल्लेखमा संचालित संरक्षण तथा बालस्पोन्सरसिप परियोजना तथा वाक नेपालद्वारा संचालित उत्थानशिल जीविकोपार्जन पोषण परियोजनाअन्तर्गत भएका क्रियाकलापहरुको जिल्लास्तरिय सरोकारवालाहरुको टोलीले अनुगमन गरेको छ।

अनुगमनका क्रममा वडा नम्बर ६ षोडशालाई बालमैत्री स्थानीय शासन युक्त वडा बनाउन संचालन गरिएका गतिविधि तथा त्यसलाई निरन्तर्ता दिन आगामी दिनमा गर्नुपर्ने  कामका बारेमा बालमैत्री स्थानीय शासन समिति र बालअधिकारसमितिसँग अलफल गरिएको थियो।

सो अवसरमा आस्था नेपालका परियोजना अधिकृत तपेन्द्र ठकुल्लाले षोडशालाई बालमैत्री स्थानीय शासन युक्त वडा बनाउन वडाका सरोकारवालाहरुले छोटो समयमै निकै मिहेनतका साथ काम गरेर सफलता हाँसिल गरेको बताए। बालमैत्री वडा बनाउनका लागि षोडशाको प्रयास अन्य वडाका लागि महत्वपूर्ण सिकाइ हुने पनि उनले सुनाए।  


प्रतिक्रिया