नेपालको निराशाजनक ब्याटिङ, उप–विजेतामै सिमित

khaptadpress.com

काठमाडौं। ब्याट्सम्यानहरूले निराशाजनक प्रदर्शन गरेपछि नेपाली टोली टोली सोमबार सम्पन्न एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) सँग २७ रनले पराजित भएको छ ।


टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयोजक यूएईले निर्धारित ५० मध्ये ४५.५ ओभरमा अलआउट हुनुअघि एक सय एक सय ४७ रन बनाएको थियो ।
सामान्य विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ३३.२ ओभरमै अलआउट हुनुअघि एक सय २० रनमात्र बनाउन सक्यो ।

कमजोर ब्याटिङ नेपाली टोलीको हारको कारण बन्यो । नेपाली टोली ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पेभेलियन फर्कनेक्रम जारी रह्यो ।

टोलीको कुल स्कोर १६ रन पुग्नुअघि नै नेपालले चार विकेट गुमाएको थियो । ओपनर निरज कुमार यादव एक रनमै आउट भए । अर्का ओपनर वंश क्षेत्री पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका निश्चल क्षेत्री पनि एक रनमै पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान दर्श सोनारले त खातासम्म खोल्न सकेनन् ।

त्यसपछि विकेटकिपर ब्याट्सम्यान अनिश लुहार र कप्तान अशोक धामीले नेपालको पालीलाई समाल्ने प्रयास गरेका थिए । तर, पाँचौं नम्बरका ब्याट्सम्यान अनिश ४० बलमा चार चौकाको मद्दतले २५ रन बनाउँदै आउट भए ।

अनिशको स्थानमा क्रिज समाल्न आएका चन्दन राम पनि एक रनमै आउट भएपछि नेपाली टोली थप दबाबमा परेको थियो । अशोक पनि ६६ बलमा चार चौकाको मद्दतले ३४ रन बनाउँदै आउट भए ।

आठौँ नम्बरका ब्याट्सम्यान रोशन विश्वकर्माले टोलीको खातामा २५ रन थपे । उनले आक्रामक पाली खेल्दै १६ बलमा दुई छक्का र एक चौका पनि हिर्काए । तर, नेपाली टोली जितसम्म पुग्न सकेन ।

आयोजक यूएईका बलर युगजंग शर्माले तीन विकेट लिए । अली अस्गर शम्सले पनि तीन विकेट हात पारे । नुरउल्लाह अयोबी र युदिस सुरीले दुई–दुई विकेट कुम्ल्याए ।

त्यसअघि, नेपाली टोलीका बलरले प्रारम्भदेखि नै यूएईका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । त्यसैले टोलीको कुल स्कोर ५० रन पुग्नुअगावै यूएईले पाँच प्रभावशाली विकेट गुमाइसकेको थियो ।

तर, त्यसपछि अहमद खुदादद र नुरउल्लाह अयोबीले उत्कृष्ट साझेदारी गर्दै यूएईलाई केही राहत दिएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका अहमद खुदाददले अर्धशतकीय पाली खेले ।

उनले टोलीका लागि ७१ रनको योगदान गरे । यसक्रममा उनले एक सय २६ बलको सामना गरी ६ चौका हिर्काए । उनले नुरउल्लाहसँग ५६ रनको साझेदारी गरे ।

नुरउल्लाहले पनि टोलीको खातामा २६ रन थपे । उनले ४७ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । यसका अतिरिक्त, ओपनर आयान मिसबाह (११ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

नेपाली टोलीका बलर दयानन्द मण्डल एक्लैले ६ विकेट लिए । उनले ६.५ ओभरमा दुई मेडन राख्दै केवल १७ रन खर्चिए ।

अपराजित पौडेलले पनि दुई विकेट हात पारे । उनले १० ओभरमा ३९ रन खर्चिए । अशोक धामी र नितिष कुमार पटेलले पनि एक–एक विकेट लिए । यूएईले अतिरिक्त रुपमा १७ रन पायो ।

नेपाली टोली सेमिफाइनलमा मलेसियालाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगेको हो । यूएईले भने सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराएको थियो ।

यो प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल र यूएई आगामी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् ।

यो प्रतियोगिताबाट तीनवटा टोली आगामी यू–१९ एसिया कपमा छनोट हुने प्रावधान छ । या प्रतियोगितामा तेस्रो हुने टोली पनि आगामी यू–१९ एसिया कपमा छनोट हुनेछ ।

यू–१९ एसिया कपको १२औं संस्करण डिसेम्बर १२ देखि २१ सम्म यूएईमै आयोजना हुँदैछ । यू–१९ एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको पनि सहभागिता रहने छ ।

प्रतिक्रिया