काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन रोक्न दुवै पक्षसँग संवाद गर्ने भएका छन्।
आज बिहान बालुवाटारस्थित निवासमा कोइरालाले आफू निकट पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति, कानुन व्यवसायीलगायतसँग छलफल गरे ।
डा. शेखरसहित उपसभापति धनराज गुरुङ र नेता डा. मिनेन्द्र रिजाललाई सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वयसँग वार्ताका लागि जिम्मा दिइएको छ ।
हिजो भृकुटीमण्डपको उद्घाटन सत्रमा पुगेका नेताहरू पनि शेखरलाई भेट्न पुगेका थिए । उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सुनिल शर्मा, चतुरबहादुर चन्दलगायतका नेता बालुवाटार पुगेका थिए ।
महाधिवेशनको बन्दसत्र सुरू भइसकेको छ । शेखरले भने, ‘सबैसँग अन्तिमसम्म प्रयास गर्छु ।’
सभापति र महामन्त्रीहरूले पनि पार्टी फुट्न नदिने बताएको सन्दर्भमा ठोस निकास निकाल्न नेताहरूको आग्रह छ ।