कीर्तिमानी स्कोर बनाएको विराटनगरको पोखरामाथि ५३ रनको शानदार जित

khaptadpress.com

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

 विराटनगरको जितमा लोकेश बम र मार्टिन गुप्टिलको विस्फोटक अर्धशतक तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ महत्त्वपूर्ण रह्यो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको विशाल योगफल तयार पारेको थियो। विराटनगरका लागि प्लेयर अफ द म्याच घोषित भएका लोकेश बमले मात्र ४८ बलमा १ चौका र ७ छक्काको मद्दतले ७२ रनको शानदार पारी खेले। उनलाई न्युजिल्यान्डका अनुभवी ब्याटर मार्टिन गुप्टिलले उत्कृष्ट साथ दिए। गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्कासहित ६१ रन बनाए।
त्यस्तै, अन्तिम ओभरतिर आक्रामक ब्याटिङ गरेका शुभम रञ्जनेले १६ बलमा ३८ तथा बसिर अहमदले १३ बलमा २३ रन जोड्दै टोलीलाई विशाल स्कोरसम्म पुर्‍याए। पोखराका लागि म्याट टेलरले २ विकेट लिए भने आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले एक-एक विकेट लिए।

२२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो। पोखराका लागि कप्तान कुशल भुर्तेलले ३१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। ओपनर एडम रोसिङ्टनले २१ बलमा ३९ रनको आक्रामक सुरुवात दिलाएका थिए।
पोखराको मध्यक्रमलाई ध्वस्त पार्ने क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १८ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए। उनले जेम्स नीशम र त्रित राज दासलाई लगातार आउट गर्दै खेललाई विराटनगरको पक्षमा मोडेका थिए।
विराटनगरका लागि मर्चेन्ट डे लाङ्गे, प्रतिश जिसी र शुभम रञ्जनेले पनि समान २-२ विकेट लिए भने बसिर अहमद र सूर्य तामाङले एक-एक विकेट लिए।
यस जितसँगै विराटनगरले प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

प्रतिक्रिया