काठमाडौं। साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ।
शनिबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको हो। एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।
लगातार चौथो खेलमा हार भोगेसँगै साविक विजेता जनकपुर बोल्ट्सको प्लेअफमा पुग्ने सम्भावना कठिन भएको छ। जनकपुरले अब चितवन राइनोज, लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ।
जनकपुरले दिएको एक सय ४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि विनोद भण्डारी र इशान पाण्डेले ९२ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिङ्स उकासेका थिए। सुदूरपश्चिमले दोस्रो ओभरमा नै एक रन बनाउँदा दुई विकेट गुमाएको थियो।
सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए। उनले ३३ सात चौका र एक छक्का प्रहार गरे। उनी ६५ रनमा आउट भए।
त्यस्तै, विनोद भण्डारी ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४२ रन बनाउँदै पेभेलियन फर्के। अर्का ओपनर जस ब्राउन गोल्डेन डकआउट भए। क्रिस लिन एक रन बनाउँदा क्याच आउट भए। हरमित सिंह २५ र कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा नटआउट रहे।
जनकपुरका लागि माज सदाकतले दुई विकेट लिए। सञ्जय कृष्णमूर्तिले एक विकेट आफ्नो नाममा गरे।
यसअघि टस जितेर ब्याटिङ गरेको जनकपुरले आठ विकेटको क्षतिमा एक सय ४५ रन बनाएको थियो। जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्धशतक पूरा गरे। ३७ बलमा चार चौका र दुई छक्का सहयोगमा अर्धशतक पूरा गरेका सञ्जय ३८औँ बलमा बोल्ड आउट भए।
त्यस्तै, ३३ बलमा चार चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाएका जान निकोल लफ्टी इटोन अविनास बोहराको बलमा हरमित सिंहको हातबाट क्याच आउट भए। ओपनर माज सदाकत १२ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए।
आशिफ शेख डकआउट हुन पुगे। शुभ कंसाकार शून्यमै पेभेलियन फर्के। आदित्य महता १५ रन थप्दै आउट भए।
कप्तान वायन पार्नेल १४ रनमा क्याच आउट भए। रुपेश सिंह एक रनमा नटआउट रहे।
सुदूरपश्चिमका लागि अविनास बोहराले चार विकेट झारे। स्कट कुगेलाइनले तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले एक विकेट आफ्नो नाममा गरे।