काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो । आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
अमेरिकाका लागि साई तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धशतकीय पारी खेले । १०१ बल खेलेका तेजाले २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ६६ बल खेलेका मिलिन्दले ७ चौका र १ छक्का प्रहार गरे । अमेरिकाका सायन जागिरले ३६ रन बनाउँदा स्मित पटेलले १६ रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५३ रन खर्चे । त्यस्तै नन्दन यादव, करण केसी र गुलशन झाले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रले ६७ बलमा २ चोका र ३ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै करण केसीले ४९ रनको योगदान गरे ।
उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । नेपालका कुशल भुर्तेलले ४७ रनको योगदान गर्दा भीम सार्कीले ३६ रन बनाए ।
अमेरिका लागि हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए । त्यस्तै शौरव नेत्रवल्कर र नेथ्सुज केन्जिले दुई दुई विकेट लिए । त्यस्तै जसदीप सिंह र शुभम रान्जेले एक एक विकेट लिए । आजको खेलमा जित निकालेसँगै अमेरिकाले २३ खेलबाट ३४ अंक जोडेको छ । अमेरिका लिग–२ को अंक तालिकाको शीर्ष स्थानमा छ ।
पराजित नेपालको १९ खेलबाट १२ अंक छ । नेपाल तालिकाको सातौँ स्थानमा छ ।