काठमाडौं। सन् २०२६ को पुरुष टी-२० विश्वकपलाई लिएर भारत र बंगलादेशबीच चलिरहेको विवादमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले कडा कदम चालेको छ।
आइसिसीले यो कुरा बंगलादेश सरकारलाई समेत जानकारी गराउन बंगलादेश क्रिकेट बोर्डलाई निर्देशन दिएको छ।
आइसिसी बोर्डको बैठकमा यसबारे मतदान भएको थियो। बोर्डका अधिकांश सदस्यहरू बंगलादेशले नखेलेको खण्डमा उसको सट्टामा अर्को टोलीलाई मौका दिने पक्षमा उभिएका छन्। यसले गर्दा बंगलादेशमाथि ठूलो दबाब सिर्जना भएको छ।
आइसिसीले बंगलादेशलाई आफ्नो अडान पुनर्विचार गर्न र अन्तिम निर्णय दिनका लागि अब मात्र एक दिनको समय दिएको छ। यदि भोलिसम्म बंगलादेशले भारत जाने सहमति जनाएन भने ऊ विश्वकपबाट बाहिरिने पक्का जस्तै छ।
यो समूहमा नेपाल पनि छ। नेपाल र बंगलादेशसहित समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटाली छन्।
भारत र बंगलादेशबीचको बिग्रँदो राजनीतिक सम्बन्धका कारण बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न इन्कार गरिरहेको छ। उसले आफ्ना खेलहरू श्रीलंकामा सार्न माग गरेको थियो, जसलाई आइसिसीले अस्वीकार गरिदिएको छ।