काठमाडौं। आउँदो फागुन २० मा रिक्त हुने राष्ट्रियसभाको १८ पदका लागि आज आइतबार मतदान भइरहेको छ ।
मतदानका लागि बिहान ९ देखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएकोमा निर्धारित समयमै सातै प्रदेशमा मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ ।
१८ मध्ये एक सिटमा उम्मेदवार निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ सिटका लागि मतदान हुनेछ ।
कोशी प्रदेशको खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेश प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान केन्द्र बनाइएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।