बडिमालिकाको विकासका लागि कार्यदल गठन गर्ने प्रदेश सरकारको तयारी

khaptadpress.com

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बडिमालिकाको विकासका लागि कार्यदल गठन हुने भएको छ । बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन सम्बन्धी कार्ययोजना तयार गर्न कार्यदल गठन हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बडिमालिका क्षेत्रको पर्यटन विकासका क्रियाकलापहरूको आगामी कार्यदिशा सम्बन्धी छलफलमा कार्यदल गठन गर्ने जानकारी दिइएको छ।

बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन गर्न हालसम्म भएका कार्यको अध्ययन र समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री शाहले बताए। उनले बडिमालिकाको विकास एवम् प्रवर्धन लागि तत्काल र दिर्घकालमा गरिने कार्यहरूको कार्ययोजना तयार गर्न कार्यदल गठन हुने जानकारी दिए।

मुख्यमन्त्री शाहले यसअघि नै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई बडिमालिका मन्दिर क्षेत्रमा प्राविधिक टोली खटाउन र आवश्यक संरचना निर्माणको थालनी गर्न निर्देशन दिएका छन्। बाजुरामा रहेको प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरमा यस वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।

साउन १४ गतेदेखि २३ गतेसम्म मन्दिरमा मुख्य पूजा र मेला लागेको थियो। यस पटक नेपाली सेनाले बनाएको नयाँ कलात्मक मन्दिर पनि आकर्षणको केन्द्र बन्यो। भक्तजनहरूले रातभर लाइन बसेर दर्शन गरेका थिए। धार्मिक विधिअनुसार ९ दिनसम्म विशेष पूजा नवाह गरियो। देशका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजनहरू आएका थिए।

बडिमालिका समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा छ। यहाँबाट हिमाल, हरियाली पाटन, दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पनि देख्न पाइन्छ। यद्यपि, बाटो राम्रो नभएको, खानेपानी, शौचालय र बासको राम्रो व्यवस्था नभएकाले भक्तजनहरूलाई समस्या परेको छ। स्थानीयले राज्यले ध्यान दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया