साबिक विजेता जनकपुरसहित ३ टिम एकैपटक बाहिरिए, लुम्बिनी प्लेअफमा

khaptadpress.com

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सलाई ४ विकेट हराउँदै लुम्बिनी लायन्स प्लेअफमा पुगेको छ । 


जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले दिएको १३३ रनको लक्ष्य पूरा गर्ने क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए ।​

डार्सी सर्ट ३०, सुमित महर्जन ०, निरोशन डिक्वेला १७, सन्दीप जोरा ०, जेजे स्मिथ २१ रनमा आउट भए । दिलीप नाथ १५ र रुवेन ट्रम्पल्म्यान ६ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका संगीत कुरे ३, मायन यादव २ र सञ्जय कृष्णमूर्तिले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले २/२ तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले १/१ विकेट लिएका थिए । 

जनकपुरलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स आठ अङ्कसहित स्वतः प्लेअफमा पुगेको हो ।

लुम्बिनी प्लेअफमा पुगेसँगै जनकपुर, पोखरा एभेञ्जर्स र चितवन राइनोज एकै पटक प्लेअफको दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स भने यसअघि नै प्लेअफको दौडबाट बाहिर गइसकेको छ । 

अङ्क तालिकाको पहिलो स्थानमा अपराजित सुदूरपश्चिम रोयल्स छ । सुदूरपश्चिम क्वालिफायर एकमा पनि स्थान सुरक्षित गरिसकेको छ ।

त्यसबाहेक काठमाण्डू गोर्खाज र विराटनगर किंग्स ‘प्लेअफ’मा पुगे पनि क्वालिफायर एकको दौडमा छन् ।

क्वालिफायर एकमा सुदूरपश्चिमको सामना कसले गर्ने भन्ने निर्णय सुदूरपश्चिम र विराटनगरबीच शनिबार हुने खेलपछि टुङ्गो लाग्नेछ ।

उक्त खेल विराटनगरले जितेमा ऊसँग काठमाण्डू गोर्खाजसँग बराबरी अर्थात् १० अङ्क हुनेछ । त्यसपछि रनरेटका आधारमा क्वालिफायर एकमा जाने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।

अहिले काठमाण्डू गोर्खाजको रनरेट ०.५३७ छ भने विराटनगरको रनरेट ०.१८९ छ ।

विराटनगरलाई क्वालिफायर एकमा पुग्नका लागि जित मात्रै पर्याप्त हुने छैन ।

उसले ठूलो अन्तरमा सुदूरपश्चिमलाई पराजित गर्नुपर्नेछ । यदि विराटनगरले उक्त खेल जित्न नसकेमा काठमाण्डू गोर्खाज स्वतः क्वालिफायर एकमा जानेछ भने विराटनगर किंग्सले क्वालिफायर दुईका लागि ‘एलिमिनेटर’ खेल्नुपर्नेछ ।

क्वालिफायर एकमा तालिकाका शीर्ष दुई टोलीले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

साथै क्वालिफायर दुईमा पुग्नका लागि अङ्कतालिकामा तेस्रो र चौथो हुने टोलीले ‘एलिमिनेटर’ खेल्नेछन् ।

क्वालिफायर एकमा विजयी हुने टोली स्वतः फाइनलमा प्रवेश गर्ने छ भने पराजित हुने टोलीले ‘एलिमिनेटर’को विजेतासँग क्वालिफायर दुई खेल्नेछ । 

प्रतिक्रिया