डम्बर खत्री
खेमेले एक दिन म्यासेन्जरमा भिडियो कल गरेर भन्यो, ‘साथी, बडीमालिका जान्छौ, हामी जादैछौं ?’ म नाबालक छँदा हजुरआमाले मलाई पिठ्युमा बोकेर एक पटक बडीमालिका पुगाउनु भएको थियो भन्ने कुरा एक्कासी सम्झिएँ . यो कुरा मैले बाल्यकाल भरि सुने। मान्यताअनुसार बडीमालिकाको दर्शन दोस्राउनु पर्छ रे, तसर्थ मेरी आमाले मलाई जहिले भन्नु हुन्थ्यो, ‘तैले एक चोटी मालिका जानुपर्छ, तब मात्र तैले शान्ति पाउने छस् ।’
म मालिका गएँ, फर्किएर आएँ, शान्ति पाएकी पाएन थाहा छैन, तर म जस्तो मान्छे गएको थिएँ, फर्किदा त्यो मान्छे पक्कै थिएँन । धनगढी घर छाड्नु भन्दा अगाडि एक–दुईवटा अनौठा कुराहरू भए । पहिलो, आमाले गाउँबाट फोन गरेर भनिन्, 'मालिकाको मन्दिरमा एउटा चाँदीको बाला चढाईदिनु, एक तोलाको, त्यो पनि नयाँ बनाएर ।’ किन ? भनेर सोध्दा उत्तर भन्न मानिनन् । अर्को, मालिका लग्ने लुगा दराजबाट निकाल्दै थिएँ, कागजात भएको खोपाबाट हजुरआमाको नागरिकता फ्याँट अगाडि खस्यो। आँखा एकाएक हजुरबाको फोटोमा गयो।
नागरिकताको फोटोले मलाई घुरिरहेको थियो । मलाई पनि लगेर जा भनिरहेको जस्तो महसुस भयो । नागरिकता पनि राखे । खेमेलाई पहिलो चोटी कक्षा ६ पढ्दा भेटेको हो । त्यसपछि आजसम्म २० बर्षभन्दा बढी भयो होला दुखमा पनि सँगै छ, सुखमा पनि सँगै छ । कोही छैन भने पनि खेमे छ । स्कुलदेखि कलेज र त्यसपछिको जिन्दगी पनि सँगै बित्यो। उ मसँग कम्फर्टेबल छ, म उसँग कम्फर्टेबल छु । हाम्रो दोस्तीको सार नै यत्ति हो। सानैमा भेट भयो, त्यसपछि छुटिएनौ ।
खेमेलाई मन पर्ने ९०% कुराहरू मलाई मन पर्छ, र मेरो खेमेलाई। मालिका जाने प्रस्ताव पहिले पनि आएकै हो, तर पनि जाँगर कहिल्यै आएन। मेरा लागि यो धार्मिक भ्रमण थिएन। त्यसै पनि हामी मालिका दर्शन गर्ने दिन भन्दा दुई दिन ढिलो धनगढीबाट हिडिरहेका थियौं । भेट्ने जति सबैले भन्थे, ‘अर्को साल जानु, ढिलो भैसक्यो।’ मेरा लागि यो ट्रेकिङ्ग थियो, कमसेकम घर छोड्दा त्यस्तै थियो । धनगढीबाट म एक्लै अत्तरिया पुगें। उताबाट खेमे र एउटा अर्को उसको साथी म पुगेको २० मिनेट पछि पुगे। हामीले मार्तडीको तीनवटा टिकट काट्यौं। दिउँसोको ३ बजेको थियो, सायद खेमेले भोक लाग्यो भन्यो। एकैछिनमा हामी सानदार नामक होटलमा थियौं ।
बफ मःम नभएको हुँदा हामीले तीन ठाउँमा चिकन मःम, दुई बियर र एउटा चिकन चिल्ली मागायौं। सबैको सुझाव थियो, 'माछा–मासु नखानु ।’ मैले भनेँ, ‘मरो लागि धार्मिक भ्रमण थिएन ।’ बस जान एक–दुई घण्टा समय छँदै थियो। हामी पुग्ने जति बियर, मःम, चुरोट खाएर बसपार्क फर्किदा बस जाने तर्खरमा थियो । साँझ पनि हुँदै थियो, कथित साँझको कोटा पनि तीनै जनाको पुगेकै थियो । अब बसमा जे भएपनि खासै केही थिएन । खेमे र मेरो एउटै सिट थियो, अर्को साथि पछाडि गएर बस्यो।
अर्को बिहान ६ बजे साँफेबगर पुग्दा पहिलोचोटी पहाड देखियो। धनगढी छँदै चाँदीको बाला बनाउने समय थिएन। साँफेबगरमा बस्ने भाइ खम्मलाई आग्रह गरेको थिएँ। एकछिनमै उ बोकेर आयो। बिहानको नित्यकर्म त्यही भयो । खाजा खाइयो। एकाबिहानै दारु खाने कसैले मन गरेनन्। प्रभु बैंकको साथी धर्मसँग भेटियो । एकैदिनमा बस गन्तव्यति÷ हिँड्यो. बस बाजुराको बाम्का बजार पुग्न तीन घण्टा लाग्यो. त्यो बेलासम्म बस पनि आधा खाली भैसकेको थियो । बाजुराको प्रख्यात बिरे खोला झरना आयो । हामी भ्यालबाट हेर्दै थियौं । बसवालाले सहयोग गर्यो, बस रोक्यो।
हामी झरना हेर्न माथि नै गयौं। झरना अद्भुत थियो । १२ बजे हामी मार्तडी बजार लक्ष्मी बैंकको शाखामा थियौं । खेमको साथी रहेको उक्त बैंकका शाखा प्रमुख असाध्यै सहयोगी व्यक्ति रहेछन् । उनैको आतिथ्यमा खाना खायौं, नुहायौं, आराम गर्यौ। त्यसपछिको यात्रा पैदल थियो । चाहिने सरसामान किन्यौं, र उनैले एकजना भरिया भाइ खोजिदिए । सानैमा एक दिन हजुरबाको कानमा चढेर पहाडतिर हेरेर सोधेको याद छ, ‘हजुरबा, यी पहाड किन यसरी उभिरहेका छन्?’ हजुरबाको जवाफ के थियो याद रहेन, वा मैले भनेको अर्थ बुझिन ।
आज सोच्छु, आज सोधेको भए र हजुरबाले आज उत्तर दिएको भए पनि म बुझ्ने थिएन । किन उभिएका छन् थाहा छैन, यत्ति थाहा छ, ति त्यहाँ त्यसै उभिएका छैनन् । मार्तडीबाट माथि उक्लदा मेरो सामुन्ने त्यही पहाड थियो, अजङ्गको । २ बजे हिड्न सुरु गर्यौं । ५–६ बजे सम्म बास बस्ने ठाउँ पुग्ने र त्यही गोठालाहरूसँग बास बस्ने हाम्रो सल्लाह थियो । नितान्त उकालो हिड्नु पर्ने थियो । हिडाई सुरु गरेको १५ मिनेट भएको छैन, खेमे र मेरो सास फुलेर फोक्सो नै निस्किएला भैसकेको थियो । खुट्टा थुरथुर कामिगरिरहेका थिए । त्यो देखेर भरिया भाइले मैले बोकेको सानो झोला पनि आफै बोक्यो र भन्यो, ‘बिस्तारै आउनु दाइ, सबैलाई सुरुमा यस्तै हुन्छ । मालिका मातालाई मनमा सम्झिरहनु, पाँच दिन हिड्नु छ, हिम्मत नहार्नुहोला ।’
पहिलो चोटी मैले मालिका मातालाई मेरो शकुसलताको लागि प्रार्थना गरे । एक घण्टा हिड्दा मैले पहिलो पटक अनौठो महसुस गरे । उकालो हिड्ने एउटा शैली हुँदो रहेछ्। सकेजति हिड्ने, अनि रोकिने । रोकाई २० सेकेन्ड जतिभन्दा बढी नहोस्, र एकै ठाउँमा लामो बसाई नगर्ने । बिस्तारै हिड्ने, हिड्दै आराम गर्ने । त्यतिमा शरीरले पाँच मिनेट हिडाईको शक्ति सञ्चित गरिसक्दो रहेछ । पहाडमा शरीरको थकान पनि छिटै मर्दो रहेछ भन्ने महसुस गरे। हामी उकालो चढ्दै गयौं। एक पछि अर्को डाँडाहरू सकिदै गए। बिस्तारै गाउँहरू पनि सकिदै गए। अब माथि उच्च पहाड थियो, जंगल थियो। हिड्दै गर्दा एक ठाउँ म र भरिया भाइ आराम गर्न बसेका थियौं। उक्त ठाउँबाट पूरा मार्तडी बजार वरपरका डाँडा, गाउँ, खोला सबै देखिन्थे। खेमे र अर्को साथी पछाडि आउँदै थिए।
मैले उसलाई सोधे, ‘भाइ, मालिका माताले मागेको सबै दिन्छिन् हो? ‘हो दाइ’ भन्दै उसले छोटो उत्तर दियो। फेरि मैले सोधे, ‘त्यसो भए यहाँका मानिस गरिब किन छन्? सबैले धनी हुन पाउ भनि बरदान मागे भैहाल्यो नि ?’ मलाई थाहा थियो, प्रश्न जटिल थियो। अर्थपूर्ण उत्तर एउटा भरियाबाट आउला मैले आश गरेको पनि थिएन। उसले भन्यो, ‘हामी बाजुरेलीहरू त्यसरी माग्दैनौं, दाइ । हामीलाई जति ठिक हुन्छ, त्यति मात्रै दिनु भन्ने कुरा माग्छौं ।’ उसले पल्लो डाँडाको बीचतिर हातले देखाउँदै भन्यो, ‘उ त्यो डाँडामा गोठहरू छन् । ति सबै गोठालाहरू यही बजार माथिका गाउँलेहरू हुन् । तिनीहरूको बजारमा घर छन्, काठमाडौं–धनगढीमा छोराछोरी छन्, लाख जति महिनाको कमाई छ । ति नपुगेर त्यहाँ घरबाट दुई दिनको बाटो ठाउँमा बस्न गएका होईनन् । त्यहाँको बसाई आनन्दको हुन्छ, सन्तोषको हुन्छ। तपाईहरू बुझ्नु हुन्न, दाइ । आउनु भएकै छ, आफै केही माग्नु होला। दिन्छिन् कि नाई थाहा पाईहाल्नु हुन्छ नि ।’ हामी शहरमा जे–जति छ त्यसलाई अझ बढी पाउनु नै सफलता ठान्छौं। तर पहाडका मान्छेहरू थोरै पाउने कुरा माग्दारहेछन् । ‘जति हो त्यति दिनु’ भन्छन् । मलाई लाग्यो, सन्तोष भनेको मागको सीमा होइन, मनको अवस्था हो ।
बिगत केही वर्षदेखि म दारु,चुरोट छाड्ने प्रयत्नमा थिएँ तर सकिरहेको थिएन। मैले यसै मौकामा मनमनै प्रण गरे, ‘माता, म यो लत छाड्ने प्रयत्नमा छु, सहयोग गर्नुहोस् ।’ भरिया भाइले भनेबमोजिम मैले बुझेन पनि, तर मनमा कताकता सोच्न चाहिँ बाध्य भए । मेरो मनले उसले भनेको पत्याउन मानिरहेको थिएन । उकालोमा बहस गर्न थप तागत थिएन । हामी त शहरिया हौँ, यिनीहरूभन्दा उच्च दर्जाका प्राणी हौँ । मैले आजसम्म बाँचेको जिन्दगी यिनीहरूको भन्दा उत्तम हो भन्ने भ्रम बिस्तारै मेरो मनबाट हराउँदै थियो । किनकी उ म भन्दा धेरै कुरामा ठिक थियो। बिचारमा प्रस्ट थियो, शरीरले फुर्तिलो थियो, लाग्थ्यो उ जिन्दगीमा खुसी नै छ ।
उकालोमा हिड्दा आफूसँग कुरा गर्न प्रयाप्त समय हुँदो रहेछ । नचाहेर पनि जिन्दगीलाई फर्केर हेर्न बाध्य भइदो रहेछ। आत्ममूल्यांकन गर्ने हो भने, उकालोको हिडाई उत्तम विधि रहेछ । उकालो हिड्दा अरूसँग बोल्ने कुरा हुँदैन। मनमा भएको आडम्बर, भ्रम उकालोले दुई घण्टामै धुलो बनाइहाल्दो रहेछ। यसरी आत्मबोध मैले पहिले कहिल्यै गरेको थिएन । एक पछि अर्को डाँडाहरू आउँथे, जान्थे । कहिले सकिएला, कहिले पुगिएला, अँझ कति बाँकी छ भन्ने कुराहरू मनबाट बिस्तारै कम हुँदै गइरहेका थिए।
मनमा एउटा भावना प्रबल हुँदै गइरहेको थियो, ‘पाँच दिन हिड्नु छ बाँकी, खोलानाला जे आए के भो ।’ यसले मेरो धैर्यतालाई पनि बलियो बनाइरहेको थियो । अब म त्यो डाँडामा कति खेर पुगिएला भन्ने कुरामा उत्सुक थिएन । सास फेर्ने कुरा पनि ध्यान दिने विषय हो रहेछ । भौतिक थकानले आत्मिक मौनता जन्माउँदो रहेछ । पहाडको सुन्दरता मनमोहक थियो । बगिरहेको मुलकै पानी हो, पिउने । बाटोमा मालिकाबाट फर्केका मानिसहरू जतिपनि भेटिन्थे, सबैको एउटै सल्लाह हुन्थ्यो, ‘बिस्तारैजानुहोला, मजाले सकिन्छ, एकदम राम्रो छ, अद्भूत छ ।’
साँझ करिब ५ बजेतिर हामी बास बस्ने ठाउँ भेटियो। हिड्ने समय त अँझै थियो, तर त्यहाँभन्दा माथि बास बस्ने ठाउँ थिएन। अर्को स्थानमा पुग्न करिब पाँच घण्टा हिड्नु पर्ने रहेछ। एकजना दम्पत्तिले भैँसी पालेर स्याउ, तरकारी खेती गरेर बसेका रहेछन्। गोठालाहरूसँग बस्ने नियम रहेछ खानाको पैसा तिर्नु पर्ने तर बास बसेको पैसा नलाग्ने। ति दम्पतिहरूसँगै खाना खाइयो। अनौठो त्यतिखेर लाग्यो, जब हामी चार जनाभन्दा बढी खाना ती दुई दम्पतिहरूले खाएको देखे। खाना मिठो थियो।
बिहानै ६ बजे हामी त्यहाँबाट विदाइ भएर उकालो लाग्यौं। ८ बजे तिर एक ठाउँमा बसेर बोकेर ल्याएका भुजा र चिउरा खायौं। अधिल्लो दिन सुत्दा आज खुट्टा दुख्छ कि लागेको थियो, तर देखेनन्। सुत्नु भन्दा अगाडि ती गोठाली बजैले तेल दिएकी थिइन्, मालिस गर्न। १२ बजे तिर फेरि अर्को ठाउँमा गोठालाहरूसँगै खाना खाइयो। यसपालीको खाना साधारण नै थियो। अब त्यति उकालो थिएन। हामी उच्च पहाडी क्षेत्रमा पुगिसकेका थियौं। रूखहरू थिएनन्, घाँसै घाँसले भरिएका डाँडाहरू थिए। हिउँदमा यो डाँडामा हिउँ जम्ने रहेछ। साँझसम्म हिड्नु थियो। चिन्ता केही थिएन। अब सजिलो थियो। कसरी हिड्ने थाहा थियो, कसरी आराम गर्ने थाहा थियो। हिड्दै गर्दा के गर्ने पनि थाहा थियो।
मजाले आफ्नो बारेमा सोच्ने हो, बिगतमा गरेका कामहरूको बारेमा सोच्ने हो। भविष्यमा अब के गर्ने भन्ने बारेमा सोच्ने हो। निर्मम तरिकाले आत्मसमीक्षा गर्ने हो। जिन्दगी ठिक छ भने ठिक छ, छैन भने के समस्या छ खोज्ने हो। त्यस्तैमा एक पटक धेरै भावुक भइयो। बसेर घर आमालाई फोन गर्ने हो भने नेटवर्क रहेनछ। मोबाइलको फोटो हेरेर बस्यो। खै किन आफै आँसु झर्यो थाहै भएन। म त्यो डाँडाको टुप्पोमा थिए ।
जहाँबाट तल हेर्दा विगत देखिन्थ्यो। पछाडि फर्किंदा गल्ती देखिन्थ्यो र अगाडि हेर्दा अझै हिड्नु पर्ने बाटो देखिन्थ्यो। मानौं जिन्दगीका तीन अध्यायहरू यही एक क्षणमा प्रस्तुत थिए। आजसम्मको जिन्दगी ठिकै थियो, पुगेकै थियो। नराम्रो मान्नु पर्ने कारण नै थिएन। तर व्यक्तिगत समस्या धेरै थिए। सबै कुरा मैले नै गरेको भन्ने आडम्बर ठूलै थियो। यति गरिसकेपछि यतिका नराम्रो बानी ठिकै त हो भन्ने घमण्ड थियो।
समस्यामा सहयोग गरेका धेरै साथीलाई फर्केर फोन पनि गरेको रैनछु। घरमा पछिल्लो पटक खाना कहिले पकाएको रहेछु भन्ने कुरा याद पनि छैन। यस्ता जागिरे जीवनको सुरुका सात वर्षसम्म मैले बैंकलाई कोसे, भाग्यलाई कोसे। के त्यो जायज थियो ? के मसँग विकल्प थिएन? वा के मैले भन्याजस्तो नराम्रो थियो? के ढिलै भैसक्या हो त ? साना(साना धेरै कुरा मैले गर्न छाडेको वर्षौ भैसकेको रहेछ। आठ बजे सुतेर पछिल्लो दिन नौ बजे उठ्यो। घमण्डले फुलेर अफिस गयो। दिनभरि काम गर्या जस्तो गर्यो। साँझ मातेर आयो खाना खायो सुत्यो। म मेरो यही जिन्दगीलाई गर्व गर्दो रहेछु । त्यसमाथि परिवारले पनि मेरो यही दिनचर्याको चाकरीमा हरदम तयार हुनु पर्ने मेरो माग रहेछ। यो कुरा पहाडले मेरो आँखा अगाडि यसरी राखिदियो कि ऐना जस्तै छर्लङ्गै थियो। वास्तवमा मेरो जिन्दगी यस्तो थिएन।
म यस्तो थिएन। बिहान ५ बजे उठेर ८ बजे सम्म हलो जोतेर ९ बजे स्कुल गएर दिनभरि पढेर साँझ जंगल गएर दाउरा काटेर ल्याएर त्यही दाउरामा आमालाई खाना पकाउन सिकाई दिने हो भन्दै एकछिन पछि उनैको काखमा सुतेको बिगत हो। यस्ता अनेकन कुरा थिए। मैले फेरि मालिका मातालाई सम्झे, ‘माता, यो पनि छोडाई देउ है।’ यसरी जति जति म हिड्दै थिएँ, त्यति त्यति म केही माग्दै थिएँ। जति हिड्यो, उति नै खराबी आउँथे। म धार्मिक भन्दा पनि तार्किक मानिस हुँ। भगवान मान्न पनि तर्क हुनु पर्छ भन्ने मेरो मान्यता हो। यो यात्राले मेरो यो मान्यतालाई चुनौती दियो। यसभन्दा बढी भगवानको दर्शन मलाई कहीं हुन सक्दैन थियो। मेरो तर्क यही होस् भगवानको दर्शन भन्नु नै आँखा अगाडिको पर्दा हट्नु होईन।
म अहिले डाँडाको टुप्पोमा बसेर तल हेरिरहेको थिएँ, तर म खोला(नाला, जंगल, पहाड मात्र देखिरहेको थिएन, स्वयंलाई हेरिरहेको थिएँ। धार्मिक आस्थामा तर्क हुँदैन भन्थे। तर्क खोज्न नसक्नु त्यो व्यक्तिको अज्ञानता हो। मैले यो यात्रामा आफैलाई साक्षात्कार देखे। बिगत देखे। भविष्य देखे, र आफ्ना गल्तीहरु देखे। दोष देखे। वुद्ध झैं वद्धत्व प्राप्त नभए पनि स्वयंत्व प्राप्त भएकै हो। र अब मेरो अगाडि कृष्ण आए के, नआए के। भगवान भेट्न मन्दिर जानु पर्दैन रहेछ। कहिलेकाहीँ उकालो हिँड्दा आफू भेटिनु नै पुग्दो रहेछ। मालिका क्षेत्रको सुन्दरताको प्रशंसा पछि पनि गरौँला। थकान, दुख र पीडाको वर्णन पनि के गरु। नाकै ठोकिने उकालो पहाड चढ्दा बिहानदेखि साँझसम्म हिड्दा के हालत होला अनुमान गर्न कठिन कसैलाई नहोला। हराभरा सुन्दर फाट, कुना कन्दरा, नदी नालाको बखान गर्न यो लेख लेखेकै होइन।
हामी साँझको बास बस्ने स्थान भितिचिन्ना सम्म आईपुग्यौं। अब उक्त स्थानबाट मालिका पुग्न एक दिनको बाटो मात्रै थियो। धेरै गोठहरू एकै ठाउँमा थिए। त्यो रात गोठालाहरूसँगै बित्यो। रातभरि पानी परिरह्यो। ती गोठालासँग बस्दा एउटा अनौठो नियम पालना गर्नु पर्ने। रातको खाना रोटी दिएका थिए, तरकारीमा रोटी चोपेर खान नमिल्ने रहेछ। रोटी अलगै खानुपर्छ, तरकारी अलगै खानुपर्छ। पछिल्लो दिन कृष्णजन्माष्टमी थियो। सबै गोठालाहरू त्यसदिन व्रत बस्दा रहेछन्। व्रत बसाइ पनि अनौठो थियोस् बिहानै ५ बजे सबै उठे। गहुँको पिठोलाई चिनीसँगै मोसेर कराईमा घ्यूसँगै पकाए। घाम उदाउनु भन्दा पहिले खाएर सके । उनीहरूको व्रत उक्त परिकार नखाई पूरा नहुने रहेछ। हामीले भने खाएनौं।
गोठालाहरूको संसार भिन्न थियो। मान्यता फरक थिए। हामीलाई कुनै अर्थ नलाग्ने उनीहरूका क्रियाकलाप उनीहरूका लागि महत्वपूर्ण थिए। जोसुकै व्यक्ति पनि खाना र बास माग्न आए भने छैन, हुँदैन भन्न नमिल्ने रहेछ। उक्त स्थानमा ती व्यक्तिहरूले आफ्नै विवेक र ज्ञानले एउटा समाज निर्माण गरेका थिए। समाजको आधारभूत नियम थिएस् परस्पर सहयोग, विश्वास र कृतज्ञता। मानिसको स्वभाव नै यस्तै होस् जहाँ बसे पनि नियम बनाइहाल्ने। संसारको रचना गरिहाल्ने। जुन ठाउँमा प्रशासन छैन, राज्य छैन, त्यहाँ पनि नियम छन्। मान्छे जहाँ जान्छ, उसले त्यहाँ नियम बनाउँछ। नियम नै उसको स्वभाव हो। म सोच्न थाले,‘सभ्यता भनेको विकास होइन, अनुशासन र सहकार्य हो।’
बिहान ६ बजे हामी पुनः हिड्यौं। यसपाली झोला त्यही राख्यौं, साँझ बास बस्न यही आईपुग्ने। यहाँभन्दा माथि बास बस्ने ठाउँ छैन। १० बजे हामी त्रिवेणी फाटमा थियौं र करिब १ बजे अथक प्रयासका बाबजुद प्रसिद्ध बडीमालिका मन्दिरको परिसरमा पुग्यौं। वरपरका सबै टाकुराभन्दा उच्च टाकुरामा रहेको उक्त मन्दिरको उचाई करिब ४ हजार २०० मिटर थियो। त्यहाँबाट सबै पहाड सानै देखिन्थे। पुगेर एकछिन थकाई मारे।
झोलाबाट पूजाको सामान निकाले। आमाले भनेको चाँदीको बाला निकाले। हजुरआमाको नागरिकता निकाले। नागरिकताको फोटोकपी पनि लगेर गएको थिएँ। मन्दिर भित्र गएर पूजा गरे, बाला चढाएँ। बाहिर आएर हजुरआमाको नागरिकता हातमा च्यापेर दुई(तीन परिक्रमा गरे। मनमनै हजुरआमा सम्झेर भने, ‘यतै बसे, स्वर्गनै गए। अरू के चाहिन्छ यसरी नै भने।’ फेरि ‘ल, हेर’ भन्दै नागरिकता अगाडि देखाएर चारैतिर देखाइदिए। मालिका माताको चरणमा पनि छुवाई दिए। म त्यस क्षण भावविह्वल भइरहेको थिएँ। मेरा पुर्खाको प्रत्यक्ष उपस्थितिको अनुभव भइरहेको थियो। आजभन्दा ३० वर्ष अगाडि हजुरआमा यहाँ पुगेकी थिइन् मेरा लागि। आज म पनि पुगेको डाँडाबाट तल हेरेर मनमनै भने, ‘हजुरआमा, आएको छु है।’ मलाई थाहा थियो, यस्तो गर्नुको कुनै तर्क छैन। यी सबै मनका बहहरू हुन्, भावनाहरू हुन्। तर पनि गरे। मन नभएर भए पनि गरे, आस्था नभएर पनि गरे। गर्न मन लागिरहेको थियो, आनन्द आइरहेको थियो, ठिक गरे लागिरहेको थियो। फेरि पनि तर्कै त हो। तर्क खोज्नु त हो। मेरो तर्क मैले पाइसकेको थिएँ।
आनन्द नै मेरो तर्क हो, सन्तोष नै मेरो तर्क हो। तर्कको अन्त्य जहाँ हुन्छ, त्यहीँ विश्वास सुरु हुन्छ। अनि कहिलेकाहीँ, विश्वास गर्नु नै सबैभन्दा ठूलो तर्क हुन्छ । मालिका माताको चरणमा शिर निहुराउँदा मैले केही कुरा मागेकै हो। अब जिन्दगीको बाटो मोड्छु भनेकै हो। दारु र चुरोट खादैन भनेकै हो। यसमा मलाई सहयोग गर्नु पनि भनेकै हो। त्यसो त मन्दिर पुग्नु पूर्व नै मैले धेरै कुरा पाइसकेकै थिएँ। औपचारिकता मात्र बाँकी थियो। आज एक बर्ष पछि यो लेख लेखिरहँदा पनि जिन्दगी खासै फेरिएको छैन।
भौतिक दुख जस्ताको त्यस्तै छन् । केही नयाँ गतिलो भएको छैन। त्यसो भन्दा केही नभएको होइन । त्यस पछि दारु र चुरोटमा हात लाउने मनै लाएन। अचेल घरपरिवार पनि पहिले भन्दा अलि बढी खुसी देखिन्छन्। अर्को महत्वपूर्ण कुरा, अब जिन्दगीमा के गर्ने भन्ने कुरा थाहा छ, र निद्रा समयमै लाग्छ । पूजाआजा पहिले पनि गर्थेन, अहिले पनि गर्दैन गरौं भन्ने नत कहिले महसुस भयो नत कसैले महसुस गरायो।