हर्मित र दीपेन्द्रले इनिङ सम्हाल्दा सुदूरपश्चिमले काठमाण्डुलाई दियो १४८ रनको लक्ष्य

khaptadpress.com

काठमाडौं। हर्मित सिंहको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शीर्ष र मध्यक्रमका ब्याटरलाई सस्तैमा गुमाए पनि हर्मित र कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हालिँएर ब्याटिङ गरेपछि सुदूर प्रतिस्पर्धात्मक योगफलसम्म पुगेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको हो ।

सुदूरपश्चिका हर्मित सिंहले सर्वाधिक ५३ रन बनाए । आक्रमक रुपमा प्रस्तुत भएका हर्मितले २० बलमा दुई चौका र ६ छक्का प्रहार गरे । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्कासहित ३९ रन थपे । ७२–६ को नाजुक स्थितीबाट यी दुईले सातौँ विकेटका निम्ति ६१ रनको साझेदारी गर्दै सुदूरपलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्याएका थिए ।

सुदूरपश्चिमले १६औँ ओभरको सुरुआतदेखि १८औँ ओभरको दोस्रो बलसम्म कुल १४ बलमा ५३ रन बनाउँदै इनिङ उकासेको हो । सुदूरपश्चिमले १६औँ ओभरमा २१ र १७औँ २४ रन बनाएको थियो । यस्तै, १८औँ ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा दुई रन लिँदा सुदूरले १४ बलमा ५३ रन जोडेको हो । तर, १८औँ ओभरको तेस्रो बलका कप्तान दीपेन्द्रसिंह ऐरी पभेलियन फर्किएपछि सुदूरको तिव्र रन गतिमा पुनः ‘ब्रेक’ लाग्यो ।

आसिफ सेखले २४ बलमा तीन चौकासहित २५ रन र इशान पाण्डेले ११ रन थपे । यसबाहेक, सुदूरका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सुदूरले ओपनरद्व विनोद भण्डारी र जस ब्रोनलाई पहिलो ओभरमै गुमाएको थियो । विनोद र ब्रोन दुवै ‘डक’ भएका थिए ।

अस्ट्रेलियाका आक्रामक ब्याटर क्रिस लिन पनि दुई रन थप्दै आउट भए । नरेन साउदले ६ रन जोड्दा स्कट कुग्गेलिन र अबिनाश बोहराले एक–एक रनमात्रै बनाए । हेमन्त धामी तीन रनमा अविजित रहे ।

काठमाण्डूका कप्तान करण केसीले चार विकेट लिए । चार ओभर बलिङ गरेका करणले ३० रन खर्चिए । मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले समान दुई विकेट लिए ।

प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो ।
 
यता, सुदूरपश्चिको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेको थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।

प्रतिक्रिया