काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित हासिल गरेको छ । विराटनगरले सोमबार खेलिएको रोमाञ्चक खेलमा जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गर्यो।
जारी प्रतियोगितामा विराटनगर किङ्सले लगातार तेस्रो जित हासिल गरेको हो । साविक विजेता जनकपुर बोल्ट्सको भने यो लगातार दोस्रो हार हो ।
विराटनगरलाई जित दिलाउन बलिङमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनी एक्लैले चार विकेट लिए । उनले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा केवल ११ रन खर्चिए ।
अन्य बलरको प्रदर्शन पनि उत्कृष्ट रह्यो । सूर्य तामाङले दुई विकेट हात पारे । उनले चार ओभरमा २० रन खर्चिए । मर्चेन्ट डे लाङ्गे र शुभम रन्जनेले पनि एक–एक विकेट लिए ।
जनकपुरका लागि जन निकोल लफ्टी–एल्टनले ४१ रन बनाए । पाँचौं नम्बरमा क्रिज समाल्न आएका उनले केवल ३० बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।
ओपनर ब्याट्सम्यान लाहिरु मिलन्थाले पनि टोलीको खातामा २३ रन थपे । उनले २२ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए ।
चौथो नम्बरका ब्याट्सम्यान संजय कृष्णमुर्थीले टोलीको खातामा २० रन थपे । यसक्रममा उनले केवल १२ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए ।
ओपनर आसिफ शेखले ११ बलमा दुई चौकाको मद्दतले १३ रन जोडे । कप्तान अनिल साह भने चार रन बनाउँदै पेभेलियन फर्किए ।
मयन यादव पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । रुपेश सिंह ११ बलमा आठ रन बनाउँदै आउट भए । संगीत कुरेले खातासम्म खोल्न सकेनन् ।
किशोर महतो दुई र ललित राजवंशी पाँच रनमा अविजित रहे । जनकपुर बोल्ट्सले अतिरिक्त रूपमा केवल पाँच रन पायो ।
त्यसअघि, विराटनगरका लागि पाँचौं नम्बरमा क्रिज समाल्न आएका शुभम रन्जनेले ३७ रनको योगदान गरेका थिए । उनले २९ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए ।
बसिर अहमदले पनि ३६ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ३५ बलको सामना गरी तीन छक्का हिर्काए ।
विराटनगरका माथिल्ला तीन ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर लोकेश बमले टोलीको खातामा २८ रन थपे । उनले २६ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।
अर्का ओपनर जर्ज मुन्सी सात बलमा दुई चौकाको मद्दतले १० रन बनाउँदै आउट भए । अनुभवी मार्टिन गप्टिल पनि १३ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १५ बलमा एक चौका हिर्काए ।
नारायण जोशी दुई रनमै आउट भए । मर्चेन्ट डे लाङ्गे शून्य रनमै पेभेलियन फर्किए । प्रतिश जीसी दुई र र सन्दीप लामिछाने शून्य रनमा अविजित रहे । विराटनगरले अतिरिक्त रूपमा सात रन पायो ।
जनकपुर बोल्ट्सका बलर रुपेश सिंह र संगीत कुरेले दुई–दुई विकेट लिए । आदित्य महताले पनि एक विकेट हात पारे । विराटनगरका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।