काठमाडौं। सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठन गरेको आयोगको म्याद फेरि थपेको छ ।
मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगको म्याद फेरि २५ दिन थप्दा चुनावअघि प्रतिवेदन नआउने भएको छ । फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ भने २५ दिन म्याद थपको हिसाबले आयोगको समयावधि फागुन २४ गतेसम्म हुनेछ ।
सरकारले जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा गत असोज ५ गते ३ सदस्यीय आयोग गठन गरेको थियो ।
यस्तै, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गर्ने र सरकारको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय समेत गरेको गृहमन्त्री एवं प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।