काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १९४ रनको विजयी लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै १७५ रन बनायो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।
यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो ।
सुदूरपश्चिम रोयल्सका लागि ओपनर जोस ब्राउनले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ६८ रन बनाए । यस क्रममा उनले केवल ३५ बलको सामना गरी पाँच छक्का र ६ चौका पनि हिर्काए ।
जारी सिजनको एनपीएलमा सुदूरपश्चिम रोयल्सका लागि अर्धशतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि, काठमाण्डू गोर्खाजविरुद्ध सुदूरपश्चिमका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।
पोखराविरुद्ध अर्का ओपनर विनोद भण्डारीले पनि ४३ रनको योगदान गरे । विकेटकिपर ब्याट्सम्यान विनोदले ४२ बलमा ६ चौका हिर्काए ।
दुवै ओपनरले टोलीलाई उत्कृष्ट शुरूआत दिँदै १ सय आठ रनको साझेदारी गरेका थिए । ११औं ओभरको चौथो बलमा ब्राउन आउट भएपछि यी दुईबीचको साझेदारी तोडिएको थियो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका क्रिस लिनले पनि टोलीका लागि ३१ रनको योगदान गरे । अनुभवी ब्याट्सम्यान लिनले आक्रामक ब्याटिङ गर्दै केवल १३ बलमा दुई छक्का र चार चौका हिर्काए ।
कप्तान दीपेन्द्रसिंह ऐरी भने १५ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले १० बलमा एक छक्का र एक चौका पनि प्रहार गरे ।
हरमित सिंहले ६ बलमा चार रन बटुले । स्कट कुग्गेलेइजनले ६ बलमा आठ रन जोडे । इशान पाण्डे ६ र नरेन साउद चार रनमा अविजित रहे । सुदूरपश्चिमले अतिरिक्त रुपमा १४ रन पायो ।
पोखरा एभेन्जर्सका बलर जेम्स निसमले तीन विकेट लिए । डान डाउथवेटले दुई/दुई विकेट हात पारे । आकाश चन्दले पनि दुई विकेट कुम्ल्याए ।
दोस्रो सिजनको एनपीएलमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेलिरहेका हुन् । आफ्नो पहिलो खेलमा सुदूरपश्चिम विजयी भएको थियो भने पोखरा पराजित भएको थियो।