अनेरास्ववियुका केन्द्रीय सदस्यमाथि कुटपिटको आरोपमा वडाअध्यक्ष पक्राउ

khaptadpress.com

अछाम। अछाममा खुकुरी प्रहार गरेको आरोपमा सदरमुकाम मंगलसेनका एक वडा अध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मंगलसेन नगरपालिका-५ का वडाअध्यक्ष झंकर भाट र मदन विष्ट रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रहरीका अनुसार असार २२ गते मंगलसेनमा रहेको सनसाईन प्लाजा होटलमा एक जना निर्माण व्यवसायीमाथि धारिलो हतियार प्रहार गरि गमभीर घाइते बनाएको आरोप भाटसहितका ९ जनामाथि लागेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार कुटाई खानेमा अनेरास्ववियुका केन्द्रीय सदस्यसमेत रहेका निर्माण व्यवसायी ३१  वर्षीय कर्णबहादुर बुढा हुन्। आफूमाथि खुकुरी तथा रड प्रहार गरेको भनेर बुढाले  वडाअध्यक्ष भाटसहित चार जनाका  नाममा अङ्गभङ्ग गर्न नहुने कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरिएको डिएसपी भण्डारीले जानकारी दिए।

पक्राउ परेका दुबै जनाविरुद्ध जिल्ला अदालतबाट मंगलबार ३ दिनको म्याद लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। फरार ७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

कुटपिटबाट बुढाको चिउडोको तथा शरीरको अन्य भागहरूमा गम्भीर चोटपटक लागेको र दुई वटा दाँत भाँचिएको प्रहरीले जनाएको छ। बुढाको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लेनदेनको विषयमा विवाद हुँदा खुटपिट भएको बुझिएको छ। भाट नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुन्।

प्रतिक्रिया