काठमाडाैं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको महत्वपूर्ण शृंखलामा लगातार दुई खेल हारेपछि दबाबमा परेको नेपाली टोलीले शनिबार आफ्नो तेस्रो खेल खेल्दैछ ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा नेपालले तेस्रो खेलमा अमेरिकाको सामना गर्दैछ । नेपाल र अमेरिकाबीचको खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११:१५ बजे शुरू हुनेछ । जारी शृंखलामा नेपाल र अमेरिका दोस्रोपटक आपसमा भिड्न लागेका हुन् ।
अघिल्ला दुवै खेलमा पराजित भएपछि नेपाली टोली दबाबमा छ भने अघिल्ला दुवै खेलमा विजयी भएको अमेरिकाको मनोबल निकै बढेको छ । नेपाली टोली पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनको ठूलो अन्तरले पराजित भएको थियो।
आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली आयोजक यूएईसँग पाँच विकेटले पराजित भएको थियो । यूएई भने आफ्नो पहिलो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो । यो शृंखलाबाट अमेरिकाले चार र यूएईले दुई अंक बटुलिसकेका छन् । नेपाल भने अझै अंकको खोजीमा छ ।
लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा अमेरिका निकै बलियो टोलीको रूपमा उदाएको छ भने नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन । यद्दपि, अमेरिकाको तुलनामा नेपालले चार खेल कम खेलेको छ ।
२२ खेलबाट ३२ अंक बटुलेको अमेरिका तालिकाको पहिलो स्थानमा आसिन छ । अमेरिकाले १६ खेलमा जीत र ६ खेलमा हारको नतिजा निकालेको छ । १८ खेलबाट केवल आठ अंक जोडेको नेपाल सातौँ स्थानमा आसिन छ ।
केवल पाँच खेलमा जीत हात पारेको नेपाल ११ खेलमा पराजित भएको छ । नेपालको दुई खेल भने अनिर्णित रूपमा सकिएको छ । यूएई भने आठ टोली सहभागी लिग–२ तालिकाको अन्तिम स्थानमा छ । यूएईले आठ अंकमात्र जोडन सकेको छ । यूएईले चार जीत र १४ हारको नतिजा निकालेको छ ।
अंक तालिकामा २४ खेलबाट ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो, २४ खेलबाट २८ अंक कमाएको नेदरल्यान्ड्स तेस्रो, २० खेलबाट २४ अंक हात पारेको ओमान चौथो, २४ खेलबाट २१ अंक जोडेको क्यानडा पाँचौँ र २४ खेलबाट १९ अंक जोडेको नामिबिया छैटौँ स्थानमा छन् ।
लिग–२ क्रिकेटको दोस्रो संस्करणमा आफ्नो पाँचौँ शृंखला खेलिरहेको नेपालले हालसम्म गतिलो प्रदर्शन गर्न सकेको छैन । त्यसैले यूएईमा जारी शृंखला नेपालका लागि निकै महत्वपूर्ण छ । बाँकी दुवै खेलमा जीत हात पार्दै चार अंक बटुल्न सके नेपाली टोलीका लागि यो शृंखला उपलब्धिमूलक बन्नेछ ।
तर, जारी शृंखलामा पनि नेपाली टोलीले आफ्नो परम्परागत समस्याबाट मुक्ति पाउन सकेको छैन । यो शृंखलामा पनि नेपाली टोलीका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकिरहेका छैनन् । अघिल्ला दुवै खेलमा नेपाली ब्याट्सम्यानले दुई सय ५० रनसम्मको स्कोर पनि बनाउन सकेका छैनन् ।
जारी शृंखलाको पहिलो खेलमा अमेरिकाले दिएको दुई सय ६३ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोली ३९.१ ओभरमै केवल एक सय ५६ रन बनाउँदै अलआउट भएको थियो । त्यो खेलमा ओपनर जोडीले नेपाललाई गतिलो शुरूआत दिन सकेको थिएन ।
पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । माथिल्लो क्रममा अन्य ब्याट्सम्यानको प्रदर्शन पनि सन्तोषजनक थिएन । आसिफ शेख ३७, भीम सार्की २९, कप्तान रोहित पौडेल दुई र आरिफ शेख २० रन बनाउँदै आउट भएका थिए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाएका थिए । गुलसन झा तीन र सोमपाल कामी ११ रनमा आउट भएका थिए । नेपाली टोलीका ६ ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् ।
नेपाली टोलीका बलरहरूको प्रदर्शन भने सन्तोषजनक नै देखिएको थियो । अमेरिका विरुद्धको उक्त खेलमा सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए ।
यसैगरी, आयोजक यूएईविरुद्धको खेलमा पनि नेपाली टोलीको ब्याटिङमै समस्या देखिएको थियो । नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रनमात्र बनाउन सकेको थियो । यो खेलमा पनि नेपालको ओपनिङ जोडी चल्न सकेको थिएन ।
चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले उत्कृष्ट शतकीय पाली खेलेका कारण नै नेपाली टोलीको स्कोर दुई सय ३३ रनसम्म पुग्न सम्भव भएको थियो । एकपटक फेरि ओपनर कुशल भुर्तेल सात रनमै पेभेलियन फर्किएका थिए भने अर्का ओपनर आसिफ ३५ रनमा आउट भएका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्की पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । आरिफ शेख २७, दीपेन्द्र ऐरी २३ र करण केसी १३ रनमा आउट भएका थिए । अन्य ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेका थिएनन् ।
धन्न, कप्तान रोहितको शतकले नेपाली टोली केही हदसम्म सम्हालिएको थियो । टोली अप्ठ्यारो स्थितिमा रहँदा सम्हालिएर खेल्दै उनले एक सय ३० बलमा दुई छक्का र पाँच चौकाको मद्दतले एक सय नौ रन बनाएका थिए ।
कप्तान रोहितका लागि यो खेल अविस्मरणीय बन्यो । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुईवटा शतक प्रहार गर्ने नेपालको एकमात्र ब्याट्सम्यान बन्न पुगे । यसका अतिरिक्त, उनी नेपालका लागि सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी पनि हुन् ।
उक्त खेलमा सामान्य लक्ष्य पाएपछि यूएईको मनोबल उच्च बनेको थियो । त्यसैले प्रारम्भदेखि नै यूएईका ब्याट्सम्यान आक्रामक रुपमा प्रस्तुत भएका थिए । यति हुँदा पनि खेलको अन्त्यतिर नेपाली टोलीका बलरहरूले यूएईका ब्याट्सम्यानमाथि अंकुश लगाउने प्रयास गरेका थिए ।
खेलको अन्त्यतिर लगातार विकेट गुमाउँदा यूएईका ब्याट्सम्यान दबाबमा परेका थिए । तर, लक्ष्य नै सानो भएकाले यूएई जितसम्म पुग्न सफल भएको थियो । यति हुँदा पनि यूएईले जितका लागि पाँच विकेट गुमाएर ४३.३ ओभरसम्म सँघर्ष गर्नु परेको थियो ।
त्यसैले, शनिबार खेलिने अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीसँग ब्याटिङमा सुधार ल्याउनुको विकल्प छैन । अघिल्ला दुवै खेलमा नेपाली टोलीले टस जितेको थियो ।
नेपाल र अमेरिकाबीच हालसम्म १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । त्यसमा नेपालभन्दा अमेरिका केही बलियो देखिन्छ । अमेरिकाले पाँच खेलमा नेपाललाई हराएको छ । नेपालले भने चार खेलमा अमेरिकालाई हराएको छ । एक खेल बराबरीमा सकिएको छ ।
नेपाल र अमेरिकाबीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सन् २०२० को फेब्रुअरी ८ तारिखमा खेलिएको थियो । त्यो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो । शुरूका तीनवटै खेलमा नेपालले अमेरिकालाई हारको स्वाद चखाएको थियो ।
तर, अहिले परिस्थिति फेरिएको छ । नेपाल र अमेरिकाबीच खेलिएको पछिल्ला पाँच खेलको तथ्याङ्क हेर्दा चार खेलमा अमेरिका विजयी भएको छ । पछिल्ला तीन एकदिवसीय खेलमा त अमेरिकी टोलीले लगातार नेपाललाई हराएको छ ।
आईसीसीद्वारा घोषित पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा पनि नेपाली टोलीभन्दा अमेरिका अगाडि छ । पछिल्लो वरीयतामा अमेरिका १४औँ र नेपाल १७औँ स्थानमा छन् । यूएई भने वरीयताको २०औँ स्थानमा छ ।
सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।
हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
यूएईमा जारी शृंखलामा नेपालले आफ्नो चौथो खेल नोभेम्बर ५ तारिख (कार्तिक १९ गते) आयोजक यूएईसँग खेल्नेछ । लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् ।