सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरले लुम्बिनीसामु जितका लागि १ सय ३३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल तयार पार्यो।
जनकपुरका लागि संगीत कोरेले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ३८ बलमा २ चौका प्रहार गरे।
मयन यादव २७ रनमा नटआउट रहे। आशिफ शेखले २० र सञ्जय कृष्णमुर्तिले १४ रन थपे। शुभ कंसाकार ११ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट हुन पुगे।
अनिल साह ७ रन बनाउँदा रुवेन टम्पलम्यानको बलमा एलबीडब्लु धरापमा परे।
लुम्बिनीका लागि शेर मल्ल र रोहित पौडेलले समान २ विकेट लिए। जेजे स्मिथ र रुवेनले समान एक विकेट आफ्नो नाममा गरे।
लुम्बिनीले आजको खेलमा जित निकाले प्लेअफमा स्थान पक्का गर्नेछ। जनकपुरको हारले प्लेअफ सम्भावना सकिनेछ। लुम्बिनी जनकपुरलाई हराउँदै प्लेअफमा स्थान पक्का गर्न चाहन्छ।
२० मङ्सिर २०८२, शुक्रबार ०५:५३ मा प्रकाशित