रविको मुद्दामा महान्यायाधिवक्ताको पछिल्लो निर्णय झिकाउने सर्वोच्चको आदेश

khaptadpress.com

काठमाडौं। चार दिनदेखि सुनुवाइ भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दुई वटा कसुर फिर्ताविरुद्धको रिट अझै अनिर्णित भएको छ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल पोखरेलको इजलासले चार दिनको सुनुवाइपछि बिहीबार महान्यायाधिवक्ताले अभियोगपत्र संशोधन सम्बन्धी गरेको पछिल्लो निर्णय लगायत सम्बन्धित फायल झिकाउन आदेश दिएको हो।

सुरुमा लामिछानेको मात्रै अभियोगपत्र संशोधन गरेर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुर हटाउने निर्णय गरेको महान्यायाधिवक्ताको कार्यालयले माघ २ गते उनीसँग जोडिएका सहकारीका सबै प्रतिवादीविरुद्ध सहकारी ठगी बाहेकका कसुरमा अभियोग नलगाउने निर्णय गरेको थियो।

यो निर्णयको प्रति मिसिलमा संलग्न रहेको नदेखिएको भन्दै इजलासले पछिल्लो निर्णय र यससँग सम्बन्धित अन्य कागजातहरू भए ती पनि मगाएर चैत ९ गतेलाई पेसी तोक्न आदेश दिएको हो। 

अब यो बाहेकको इजलासले सुनुवाइ गर्न सक्नेछ। यो इजलासका न्यायाधीश पोखरेलले विगतमा लामिछानेकै पक्षबाट बहस गरेको भन्दै उनले यो रिटको सुनुवाइ गर्न नमिल्ने निवेदकको माग थियो। तर न्यायाधीश पोखरेल इजलासबाट अलग नहुने निर्णयसहित सुनुवाइ अगाडि बढाएका थिए। 

चार दिन दुवै पक्षबाट बहस पनि भएको थियो। बिहीबार मात्रै रिट निवेदकको तर्फबाट जवाफी बहस सकिएको थियो। तर अन्तिममा इजलासले उक्त निर्णयको प्रति झिकाएर पुनः सुरुबाटै सुनुवाइ थाल्ने अवस्थामा पुर्‍याएको हो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेमाथि यसअघि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी हुन्। तर उनको निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले गत माघ ४ गते रिट दायर गरेका थिए। उनीहरूले मुद्दा फिर्ता गर्न नमिल्ने जिकिर गर्दै महान्यायाधिवक्ताको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरेका छन्। 

महान्यायाधिवक्ताको निर्देशनपछि चार वटा जिल्ला सरकारी वकिलको कार्यालयले सम्बन्धित जिल्ला अदालतमा अभियोगपत्र संशोधनको निवेदन पनि दिइसकेका छन्। तर जिल्ला अदालतले यही रिटलाई देखाउँदै यसको टुंगो लागेपछि मात्रै निर्णय गर्ने आदेश दिएका छन्। 


प्रतिक्रिया