काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो चरणको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर ९४ रन बनाउँदै १७.५ ओभरमा अलआउट भयो ।
सुदूरपश्चिम पनि यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनलमा पुगेको थियो । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराएको थियो ।
अब एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ ।
बिहीबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा अठ विकेट गुमाएर एक सय ३४ रन बनाएको थियो।
ओपनर ब्याट्सम्यान दिनेश अधिकारी (एक रन) लाई सस्तैमा गुमाएको लुम्बिनीका लागि अर्का ओपनर डी’आर्ची सर्ट र तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गरे ।
यी दुबै ब्याट्सम्यानले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे । डी’आर्ची सर्टले महत्वपूर्ण ४५ रन बनाए । उनले केवल ४१ बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए ।
कप्तान रोहितले पनि टोलीको खातामा ३४ रन थपे । उनले ३० बलमा दुई छक्का र दुई चौका प्रहार गरे । निरोसन डिक्वेलाले २२ बलमा चार चौकाको मद्दतले २९ रन बनाए ।
सन्दीप जोरा र जोनाथन जोहानेश स्मित खाता खोल्नुअघि नै पेभेलियन फर्किए । दिलीप नाथ पनि केवल एक रन बनाउँदै आउट भए ।
रुवेन ट्रम्पलम्यानले अविजित ११ रन बटुले । शेर मल्लले सात रन जोडे । अविषेश गौतम दुई रनमा अविजित रहे ।
लुम्बिनीका लागि विराटनगरका बलर सुवाष भण्डारी घातक बने । उनले किफायती बलिङ गर्दै चार ओभरमा केवल १४ रन खर्चिएर तीन विकेट लिए ।
प्रतिस जीसीले पनि तीन विकेट हात पारे । उनले चार ओभरमा २७ रन खर्चिए । कप्तानसमेत रहेका लेग–स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिए । लुम्बिनीले अतिरिक्त रूपमा चार रन पायो ।