काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुरू भएको छ । बिहान साढे ८ बजेदेखि विशेष महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुरू भएको जिल्ला, क्षेत्र समन्वय समिति संयोजक युवराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ । नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिई आउनु पर्ने उनले बताए ।
विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च निर्माण गरिएको छ । मञ्चको अगाडि खुला चौरमा कुर्सीको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ।
उद्घाटनका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने छन् । विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण गरिएको छैन ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको नयाँ मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरेको छ । उक्त विषयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले असहमति जनाएका थिए