काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई कुनै पनि पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने जवाफ दिएको छ।
विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोध गरेको पत्रको जवाफमा निर्वाचन आयोगले यस्तो भनेको हो।
विशेष महाधिवेशन पक्षधरले पुस १६ मा पार्टीको विधान १७ (२) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन गर्न–गराउन पार्टी नेतृत्वलाई निर्देशन दिनू भन्दै आयोगमा पत्र पठाएको थियो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले कुनै पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने बताए।
‘कुनै पनि पार्टीको अन्तरपार्टी संघर्षमा हामी प्रवेश गर्दैनौँ,’ उनले भने, ‘निर्वाचन आयोग पार्टीको आन्तरिक झगडा रेकी गरेर बस्दैन। हामीले यस्तो गरौँ भनेर आउँदा हो होइन भनेर मात्र हेर्ने हो,’ भण्डारीले भने।
महामन्त्रीद्वय थापा र शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डमा विशेष महाधिवेशनको आह्वान गरेका छन्।
यता पुस १८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख २८–३१ मा पार्टी १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ।
२४ पुस २०८२, बिहिबार ०४:३० मा प्रकाशित