बाजुरा। प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा हुलदंगाका क्रममा ज्यान जाने घटना भएको बाजुरामा यस पटक भने सबै उम्मेदवारहरूले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र सभ्य बनाउने प्रतिबद्धता जनाएका छन्।
बिहीबार सात राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारसहित आठ जना उम्मेदवारले संयुक्त रूपमा नौ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्। उनीहरूले निर्वाचन प्रचार–प्रसारका गतिविधि शौहार्दपूर्ण, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने जनाएका छन्।
प्रतिबद्धतामा एकअर्का राजनीतिक दल तथा उम्मेदवारको सम्मान र आदर गर्ने, व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा टिकाटिप्पणी नगर्ने उल्लेख छ। ‘उम्मेदवारको व्यक्तिगत जीवनका विषयमा टिप्पणी गर्ने वा गराउने कार्य गर्दैनौँ,’ प्रतिबद्धतामा भनिएको छ।
यसैगरी निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने विवादहरू आपसी संवादमार्फत समाधान गर्ने र कुनै पनि प्रकारको धाँधली स्वीकार नगर्ने प्रतिबद्धता जनाइएको छ। निर्वाचन प्रचार र मतदान प्रक्रियामा घुसपैठ, धाँधली, नक्कली गतिविधि वा अनुचित व्यवहार भएमा संयुक्त रूपमा अस्वीकार गर्ने उनीहरूको भनाइ छ।
एउटै निर्वाचन क्षेत्र रहेको बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी, नेकपा (एमाले)का लालबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाशबहादुर शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केशरबहादुर शाही, नेकपा (माओवादी)का भूपेन्द्र विक, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप)का दीपक डीसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले प्रतिबद्धतामा हस्ताक्षर गर्दै प्रेस विज्ञप्ति जारी गरेका हुन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनका दिन बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर सञ्जीव अयडी र चेतन अयडीको मृत्यु भएको थियो।
बाजुरामा विगतमा निर्वाचनका बेला पटक–पटक झडप हुने गरेको पृष्ठभूमिमा यस पटक सबै उम्मेदवारले चुनावी माहोल तात्नुअघि नै शान्तिपूर्ण वातावरण निर्माणका लागि प्रतिबद्धता जनाएका हुन्।