अछाम। घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि मन्त्री गुप्ताले मंगलबार बिहान राजीनामा दिएको बालुवाटार स्रोतले जनाएको छ। स्रोतका अनुसार यसअघि सोमबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए।
सोही निर्देशनअनुसार मन्त्री गुप्ता आज राजीनामा बुझाएर हिँडेका हुन्। प्रधानमन्त्री ओली सिनेटको बैठकमा भएकाले मन्त्री गुप्ता प्रधानमन्त्रीका स्वकीय राजेश बज्राचार्यलाई पत्र बुझाएर हिँडेका हुन्। मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादित बनेका थिए।
अडियो बाहिरिएपछि प्रधामन्त्री ओलीले यसअघि पनि गुप्तासँग सोधखोज गरेका थिए। आफूलाई फसाउने नियतले पैसाको पोको नै मन्त्री क्वार्टरमा छोडेर अडियो बनाएको दाबी गुप्ताले गरेका थिए। विवादपछि गुप्तालाई राजीनामा दिन दबाब परेको थियो।
राजीनामा नदिए हटाउने तयारी प्रधानमन्त्रीको थियो । विवादमा परेपछि गुप्तालाई छिटो हटाउन विपक्षी दल र कांग्रेसका नेतालेसमेत प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। संसद्मा समेत मन्त्रीलाई छिटो बर्खास्त गर्न दबाब परेको थियो।
विवादित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले हालै सार्वजनिक भएको अडियोकाण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौखिक स्पष्टीकरण दिँदै मन्त्री गुप्ताले पैसा क्वार्टरमै भेटिएको स्वीकारेका हुन्।
यद्यपि, सो पैसा आफूलाई फसाउनका लागि क्वार्टरमा छाडेर त्यसअनुसारको अडियो रेकर्ड गरिएको हुन सक्ने उनको दाबी छ। उनी पर्सा क्षेत्र नम्बर–३ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद हुन्।