अछाम। अछामको पूर्वी क्षेत्रमा अवस्थित तुर्मखाँदमा बहुमुखी क्याम्पस स्थापना भएको छ।
तुर्माखाँद बहुमुखी क्याम्पसको बिहीबार एक समारोहकाबीच उद्घाटन गरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालय शिक्षाशात्र संकायका डिन डाक्टर भवानसिंह चलाउने क्याम्पसको उद्घाटन गरेका हुन्।
सो अवसरमा विभिन्न सरोकारवालाहरुले क्याम्पस स्थापना हुदा यस क्षेत्रका बालबालिकाहरुलाई गाउँमै उच्च शिक्षा हासिल गर्न मद्दत पुग्ने बताए। सरोकारवालाहरुले क्याम्पस स्थापना भएपछि उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम वा जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा पनि गरे ।
प्रमुख अतिथि चलाउनेले भौगोलिक रूपमा विकट तुर्माखाँदमा क्याम्पस स्थापना हुनु शैशिक आन्दोलनको महत्वपूर्ण उपलब्धी भएको बताए। उनले सुदूरपश्चिम विश्वविद्यालयले दुर्गम ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। कार्यक्रमका विशिष्ट अतिथि तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले स्थानीय सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गाउँपालिकाभित्रै क्याम्पस स्थापना हुनु गौरवको विषय भएको धारणा राखे। क्याम्पसको दिगो व्यवस्थापन तथा विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने उनले प्रतिवद्धतासमेत जनाए।
तगाउँपालिका उपाध्यक्ष विमला कुमारी शाहीले तुर्माखाँदमा क्याम्पस सञ्चालनसँगै उच्च शिक्षाका लागि छोरीबुहारीहरूले भोग्दै आएको कठिनाइ समाधान हुने विश्वास व्यक्त गरिन्। अछाम बहुमुखी क्याम्पसका प्रमुख ध्रुव कुमार शाहीले छिमेकी क्याम्पसको नाताले शैक्षिक आदानप्रदान र सहकार्यमा सधैं तत्पर रहने बताए।
कार्यक्रममा विभिन्न क्याम्पसका प्रमुख, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम संचालक तदर्थ समितिका अध्यक्ष मनबहादुर बयकको अध्यक्षतामा सम्पन्न भएको थियो।