काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको सम्झौता आगामी वैशाखमा सकिँदै छ। युवा तथा खेलकुद मन्त्रालय र त्रिविबीचको यो सम्झौता नवीकरण नभए नेपालमा लोकप्रिय हुँदै गरेको क्रिकेट प्रभावित हुनेछ।
सम्झौता सकिन ४ महिना मात्र बाँकी हुँदा त्रिभुवन विश्वविद्यालय भने नवीकरण नगर्ने पक्षमा देखिएको छ। कीर्तिपुर मैदानमा खेल हुँदा पढाइमा बाधा पुगेको भन्दै विश्वविद्यालय सम्झौता नवीकरणको विपक्षमा देखिएको हो।
तत्कालीन खेलकुदमन्त्री विराजभक्त श्रेष्ठकै पालामा सम्झौता नवीकरणको प्रक्रिया अघि बढाइएको थियो। तर युवा तथा खेलकुद मन्त्रालय सचिव डाक्टर हरि प्रसाद लम्सालले भने आफू मन्त्रालयमा भर्खरै आएकाले यसबारे थाहा पाउन बाँकी रहेको जानकारी दिए।
उनले भने, ‘भर्खरै भएको प्यारापिट, फ्लडलाइटलगायत निर्माणका लागि छलफल भएको हो, मैदानको सम्झौताबारे भने केही जानकारी आएको छैन।’
त्रिविको विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीले सम्झौता नवीकरणका लागि अहिलेसम्म कुनै निर्णय नभएको बताए।
‘अहिलेसम्म केही निर्णय भएको छैन। सम्झौता नवीकरण गर्न भने गाह्रो छ। क्यानको व्यवहारका कारण नै सम्झौता नवीकरण गर्न गाह्रो देखिएको हो’, उनले भने, ‘सम्झौता नवीकरणका लागि कुनै पक्ष पनि आउनुभएको छैन। अहिलेसम्म नेपाल प्रिमियर लिग (एनपीएल) को बारेमा समेत ब्रिफिङ भएको छैन।’
विश्वविद्यालय स्रोतका अनुसार कीर्तिपुर मैदानमा खेलको समयमा विश्वविद्यालयजस्तो नभएको तथा पठनपाठनमा नै असर पुगेकाले सम्झौताको पक्षमा नरहेको स्पष्ट पारेको छ।
‘पठनपाठनमा असर पुगेकाले विस्तारै सम्झौता नवीकरण नगर्ने भन्नेमा पुगेका हौँ। अब २÷४ वटा प्रतियोगिताहरू हुन दिन्छौँ। त्यसपछि विस्तारै ‘कटअफ’ गर्दै लैजाने तयारीमा छौँ। खेलको समयमा धेरै होहल्ला भयो जसले गर्दा विद्यार्थीहरूलाई नै गाह्रो भयो’, स्रोतले भन्यो।
सुरुवातको ३ वर्ष क्यानले वार्षिक ३ लाख रुपैयाँ भाडा दिँदै आएको थियो। तर तेस्रो वर्षपछि भने क्यानले वार्षिक ९ लाख रुपैयाँ भाडा त्रिविलाई दिँदै आएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले सम्झौता नवीकरणका लागि काम अघि बढिरहेको बताए।
‘हामीले अनुरोध गर्ने हो, टीयूको इतिहाससँगै क्यानको इतिहास छ। लामो समयदेखि यहीँ नै प्रतियोगिता हुँदै आएर एउटा इतिहास बनाएको छ। त्यसैले सम्झौता नवीकरण हुन्छ’, उनले भने, ‘सरकारले पनि ठूलो लगानी गरेर पूर्वाधार बनाएको छ। एनपीएलदेखि लिएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू त्यही हुँदै आएको छ।’
मैदानका लागि आवश्यक भौतिक संरचना सबै क्यानले नै बनाउनुपर्ने सम्झौतामा उल्लेख छ। सोही सम्झौताअनुसार क्यान, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् मिलेर त्रिवि क्रिकेट मैदानलाई नयाँ स्वरुपमा ल्याएका थिए।
अहिले मैदानमा पहिलो चरणको काम सम्पन्न हुँदा १० हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान भइसकेको छ। सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँको बजेट समेत सुनिश्चित गरिसकेको छ। आगामी ३ वर्षभित्र सम्पूर्ण निर्माण सक्ने लक्ष्यमा सहरी विकास मन्त्रालय रहेको छ।
प्यारापिट निर्माणका लागि बीकेओआई–केसीडीसी–बीजी जेभीले २०८१ फागुन १९ गते सम्झौता गरेर २० गतेबाट निर्माणको काम सुरु गरेको थियो। २ महिनाभित्र काम सक्ने गरी ४३ करोड ७७ लाख ३० हजार रुपैयाँमा निर्माणको जिम्मा पाएको थियो। १० हजार दर्शक सिट क्षमताको प्यारापिट तयार पारिएको छ।
फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी ज्वाइन्ट भेन्चरले ठेक्का पाएको थियो। ६ वटा फ्लडलाइटमा ७० वटाका दरले ४२० वटा लाइट जडान गरिएको छ।