अछाम । १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहीबारदेखि पञ्चदेवल विनायक नगरपालिकामा सुरु भएको छ।
जिल्लाभरिका स्थानीय तहबाट आएका खेलाडी, प्रशिक्षक, शिक्षक, अभिभावक तथा दर्शकहरूको उल्लेखनीय सहभागिताका बीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो। पञ्चदेवल विनायक नगरपालिकास्थित पञ्चदेवल क्याम्पसको खेलमैदानमा आयोजित उद्घाटन समारोहमा प्रतिनिधि सभाका पुर्व सदस्य राम बहादुर बिष्ट प्रमुख अतिथि रहेका थए।
उनले यस प्रतियोगितालाई आफ्नो सामाजिक जीवन भरिकै ऐतिहासिक तथा गौरवको रुपमा लिएको धारणा ब्यक्त गरे। सामाजिक जीवनको अवधिभर पहिलो पटक हजारौं खेलाडीहरूको पिर्के सलामी प्राप्त गर्दा आफू निकै उत्साहित भएको भन्दै खुसी ब्यक्त गरे।
उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख को पनि सहभागीता रहेको थियो। पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै पूर्वाधार, व्यवस्थापन र खेलाडीमैत्री वातावरण निर्माणमा निरन्तर प्रयास गरिरहेको बताइन्। उनले भावुक हुँदै आफ्नो बाल्यकालको खेल स्मृति स्मरण गरिन्।
कार्यक्रममा उपस्थित जिल्ला स्थित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। समारोहमा स्थानीय सांस्कृतिक झल्काउने विभिन्न नृत्य तथा प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लास्तरमा लुकेका प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। उनीहरूले खेलकुदमार्फत अनुशासन, सहकार्य, प्रतिस्पर्धा र खेल भावनाको विकास हुने धारणा राखे।
जिल्ला खेलकुद समिति अछामका अध्यक्ष केशर खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो। यस जिल्ला स्तरीय प्रतियोगितामार्फत विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट गरिने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगिताले जिल्लामा खेलकुद संस्कृतिको विकास, युवा प्रतिभाको पहिचान तथा दीर्घकालीन खेलकुद विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। प्रतियोगिता अवधिभर सहभागी खेलाडीहरूको आवास, खानपान, स्वास्थ्य सेवा तथा सुरक्षालाई व्यवस्थित रूपमा व्यवस्थापन गरिएको आयोजक समितिले जनाएको छ।