आधिकारिकता खोज्दै गगन थापा समूह आज निर्वाचन आयोग जाने

khaptadpress.com

काठमाडौं। नेपाली कांग्रेसको गगन थापा समूह आधिकारिकता खोज्दै आज निर्वाचन आयोग जाने भएको छ । 


सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बिहीबार निर्वाचन आयोग जाने बताएका थिए । 

उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए । थापाले निर्वाचन आयोग कुनै अवैध शक्तिको प्रभावमा नपर्ने विश्वास व्यक्त गरे । उनले आफू नेतृत्वको कार्यसमिति नै कांग्रेसको वैधानिक समिति भएको जिकिर गर्दै आफूहरूले नै वैधानिकता पाउनुपर्ने दाबी गरे ।

गएराति विशेष महाधिवेशनले थापाको नेतृत्वमा सिंगो नयाँ कार्यसमिति चयन गरेको थियो । दलले आफ्नो पदाधिकारीमा गरेको हेरफेरको जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने कानुनी प्रावधान छ ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन, पदाधिकारीको हेरफेर र आयोगले तोकेबमोजिमका अन्य जानकारी ३० दिनभित्र आयोगलाई दिनुपर्ने उल्लेख छ।

शेरबहादुर देउवा पक्षधरले भने तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा तत्कालीन सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासित गरेको छ ।

प्रतिक्रिया