महिनावारी भएको बेला गोठमा बसेकी महिलाको सर्पले टोकेर मृत्यु

khaptadpress.com

कञ्चनपुर। कृष्णपुरमा महिनावारी हुँदा गोठमा सुतेको बेला सर्पले टोकेर एक महिलाको ज्यान गएको छ।
कृष्णपुर नगरपालिका-१ निगालीकी २८ वर्षीया कमला दमाईको सर्पको टोकाइबाट मृत्यु भएको हो।

वडा नम्वर २ का वडा अध्यक्ष अर्जुन साउँदले दिएको जानकारीअनुसार महिनावारी भएको बेला राती गोठमा सुतेकी कमलालाई शुक्रबार राती सर्पले टोकेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले शुक्रबार राति साढे १२ बजेतिर सर्पले बाँया गालामा टोकेपछि गम्भीर भएकी कमलालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको जानकारी दिए।


उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको डीएसपी बोहराले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनलाई छाउगोठमा सुतेका बेला सर्पले टोकेको भनेर उल्लेख गरिएपनि प्रहरीले भने यसबारेमा आधिकारीक जानकारी प्राप्त नभएको बताएको छ।

प्रतिक्रिया