बाजुरा । महिनावारी विभेदको अन्त्य गरि मर्यादित महिनावारी मैत्री समाज बनाउने उद्देश्यले बाजुराको बुढीगंगा नगरपालिकाका सरोकारवालाहरुका लागि मर्यादित महिनावारी सचेतना कार्यक्रम संचालन गरिएको छ।
महिनावारीका नाममा हुने विभेद हटाउँदै पालिकालाई नै मर्यादित महिनावारी मैत्री बनाउनका लागि वडास्तरका सरोकारवालाहरुलाई उक्त सचेतना कार्यक्रम संचालन गरिएको हो। करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त आयोजनामा संचालित गरिमा परियोजनाको आयोजनामा कार्यक्रम संचालन गरिएको हो।
उक्त परियोजना बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडामा लागू भएको छ। सो अवसरमा परियोजनाले गर्ने क्रियाकलापबारे पनि पालिकास्तरमा तथा वडास्तरमा जानकारीसमेत गराइएको छ। कार्यक्रममा जनप्रतिनिधिहरु, महिलास्वास्थ्य स्वयमसेविका, टोलस्तरिय आमासमूहका पदाधिकारीहरु, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो।
सचेतना कक्षाको सहजिकरण नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शिवराज खत्री तथा रमित विकले गरेका छन्। सो अवसरमा महिनावारीको महत्व र आवश्यकता,महिनावारी विभेदविरुद्धका संवैधानिक एवं कानुनी प्रावधानहरु, राष्ट्रिय सभाबाट २०८१ चैत ८ गते पारित मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव, महिनावारीसम्बन्धी भ्रमहरु, समाजमा कायम महिनावारी विभेदका स्वरुप तथा प्रकारलगायतका बारेमा प्रकाश पारिएको थियो।
महिनावारी हुँदा आउने रगत फोहोर र अशुद्ध रगत हो भन्ने बुझाइ प्राय सबै स्थानीयमा रहेको पाइएको छ। महिनावारीको रगत सफा, शुद्ध र पवित्र हो भन्ने कुरा पहिलो पटक सुनेको सहभागीहरुले प्रतिक्रिया दिए। छोरा मान्छेहरुको दाह्री जुँगा आउनु र छोरी मान्छेहरु महिनावारी हुनु उस्तै भएको कुरा पनि पहिलोपटक सुनेको सहभागीहरुले बताए।
महिनावारी हुँदा आउने रगत सफा, शुद्ध र पवित्र हो भन्नेकुरा थाहापाएपछि महिनावारी भएको महिलालाई विभेद गर्ने कार्य गलत भएको वडा नं १० सिँगाडाकी महिला स्वास्थ्य स्वयमसेविका बसन्ति कुँवरले बताइन्। 'हामीले सिकेको कुरा गाउँका अरुहरुलाई पनि भन्छौं', उनले भनिन्-'वर्षौंदेखि जरा गाडेर बसेको प्रथा भएकाले एक्कासी पूरै परिवर्तन हुन त समय लाग्छ तर विस्तारै परिवर्तन हुन्छ।'
बुढीगंगा नगरपालिकामा महिनावारी हुँदा अलग्नै बस्ने गोठहरु नभएको स्थानीयले बताए। पालिकाभरी महिनावारी हुँदा महिलाहरु सबै घरमै बस्ने गरेको पाइएको छ। कोही घरभित्र पनि छुट्टै कोठामा बस्ने र कोही भने महिनावारी हुँदा पनि अघिपछि सुत्ने ठाउँमै सुत्ने गरेको कार्यक्रमका सहभागीहरुले बताए। केही टोलका महिलाहरु महिनावारी भएको समयमा गाई भैंसी दुहुने तथा दूध दही पनि खाने गरेको पाइएको छ। तर यो संख्या न्यून छ।
वडा नं ८ की महिला स्वास्थ्य स्वयमसेविका हिमानी कुँवर थापाले केही टोलका महिलाहरु महिनावारी भएको समयमा पनि गाई भैंसी दुहुने तथा गोरस खाने गरेको तथा अधिकांश महिलालाई उक्त काम गर्न बन्देज रहेको बताइन्। केही गाउँमा महिनावारी भएका महिलाको घरबाट अरुले गोरससमेत नखाने गरेको सहभागीहरुले बताए।
बाजुरामा महिनावारी भएको बेला बस्ने छुट्टै गोठहरु नभए पनि, यो खाना हुने यो खान नहुने, यो गर्न हुने यो गर्न नहुने, यहाँ जान हुने यहाँ जान नहुने जस्ता महिनावारी विभेदका दर्जनौं हानिकारक अभ्यासहरु कायमयै छन्। वडा नं ८ की तारा कुमालले महिनावारी हुँदा घरमै बसे पनि त्यो बेला जन्मेदेखि मृत्युसम्मका कुनै पनि कार्यमा महिलाले प्रत्यक्ष सहभागिता जनाउन नपाएको बताइन्।
वडाअध्यक्ष रमेश बहादुर रावलले कार्यक्रमपछि महिनावारीबारे सबैको दिमागमा रहेको गलत बुझाई हटेको बताए। उनले महिनावारी बार्ने काम महिलाहरुबाट नै धेरै भइरहेको भन्दै यो विभेद अन्त्यका लागि महिला नै अग्रसर हुन आवश्यक रहेको बताए। वडा नं ६ का वडाअध्यक्ष हेमराज जोशीले तालिममा ज्ञानवर्द्धक कुरा सिकेको भन्दै सिकेको कुरा महिलाहरुले व्यवहारमा उत्रानुपर्नेमा जोड दिए।
वडा नं ९ की स्वास्थकर्मी दुर्गा कुमारी गिरीले महिलाहरु महिनावारी भएको बेला झन पोषिलो खानेकुरा खानुको सट्टा पाँच दिन दूध दही नखानाले उनीहरुको स्वास्थ्य अवस्था निकै कम्जोर हुने गरेको बताइन्। महिनावारी हुने कुरा नितान्त व्यक्तिगत भएकाले अरुलाई भनिरहन जरुरी नभएको उनको भनाई थियो।
पाँच वर्षका लागि संचालित परियोजनाको मुख्य उद्देश्य महिनावारी विभेदको अन्त्य महिनावारीलाई सुरक्षित बनाउने तथा प्रजनन् स्वास्थ्यमा पहुँच पुर्याउने रहेको परियोजनाका व्यवहार परिवर्तन तथा संचार अधिकृत पूजा गर्तौलाले जानकारी दिइन्।
गरिमा परियोजना बाजुराको बुढीगंगा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, अछामको मेल्लेख गाउँपालिका तथा बझाङको खप्तड छान्ना गाउँपालिकामा पनि लागू भएको परियोजनाका लेखा तथा प्रशासन सहायक उपेन्द्र थापाले जानकारी दिए।
परियोजना अन्तर्गत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग, विद्यालयमा सौचालय मर्मत तथा किशोरीमैत्री सौचालयको प्रवर्धन, समूदायस्तरमा आमा समूहलाई सरसफाइ सामाग्री सहयोग, फोकल शिक्षकहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम,धामी झाँक्रीहरुको अवलोकन भ्रमण तथा पुनर्ताजकी बैठक, समूदायस्तरिय महिनावारी विभेद न्यूनिकरण कार्यक्रमहरु संचालन गरिने परियोजनाका फिल्ड संयोजक विक्रम जोशीले जानकारी बताए।