संसद पुन:स्थापनाका लागि दबाब बढाउँदै एमाले, देशैभर प्रदर्शन र सभा

khaptadpress.com

काठमाडौं। प्रतिनिधिसभा पुनःस्थापनाका लागि जनमत सृजना गर्न भन्दै नेकपा एमालेले शनिबार देशैभर जनसभा आयोजना गरेको छ । ‘संविधानको रक्षा र प्रतिगमन’विरुद्ध भन्दै एमालेले देशभर शक्ति प्रदर्शन गरेको हो ।

काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेकका अन्य जिल्लामा भएको प्रदर्शनमा एमाले कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । एमालेले आयोजना गरेको विरोध कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो ।

जनसभाअघि जिल्ला सदरमुकाममा र्‍याली निकालिएको थियो । भदौ २३–२४ को घटनापछि राजनीतिक दलहरूका गतिविधि शिथिल भएको बेला एमालेले एकै दिन देशभर प्रदर्शन गरेको हो ।

सभामा सम्बोधन गर्ने नेताहरूले अहिलेको राजनीतिक संकटको निकासका लागि प्रतिनिधिसभाको पुनःस्थापना नै एकमात्र विकल्प रहेको बताए ।

सरकार चुनाव गराउने दिशामा नरहेको तथा चुनावको वातावरण नरहेकोले संसद् पुनःस्थापना गरेर सर्वपक्षीय सरकार गठनमार्फत चुनावमा जानु पर्ने नेताहरूको भनाइ छ ।

रुपन्देहीको बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै सचिव छविलाल विश्वकर्माले देशलाई संवैधानिक मार्गमा फर्काउने विकल्प प्रतिनिधिसभा पुनःस्थापना भएको बताए ।

महासचिव शंकर पोखरेलले बाँकेको नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन गरेका छन् । उनले भदौ २४ को प्रतिक्रान्ति पछि नेकपा एमाले शुरूमा सडकमा आएको बताए । ‘पार्टी कार्यालय र नेताको घर जलाउँदैमा एमाले सिद्धिएन, अहिले सडकमा एमाले बाहेक कोही देख्नु भएको छ ?,’ पोखरेलले भने ।

केपी ओलीको गृहजिल्ला झापामा आयोजित सभालाई सचिव पद्मा अर्यालले सम्बोधन गरेकी छिन् ।


गुल्मीमा भएको जनसभालाई भर्खरै एमालेमा फर्किएकी रामकुमारी झाँक्रीसहित ३ केन्द्रीय नेताले सम्बोधन गरेका थिए । उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टले सम्बोधन गरे ।

सभालाई सम्बोधन गर्दै झाँक्रीले सरकारको नेतृत्वले राष्ट्रियताको पक्षमा अडान लिएपछि अकल्पनीय घेराबन्दी र प्रहार शुरू भएको बताइन् ।

चितवनको सभालाई उपाध्यक्ष रामबहादुर बादललगायतले सम्बोधन गरेका थिए ।

लमजुङमा भएको जनसभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।

कैलालीको धनगढीमा भएको जनसभालाई सचिव लेखराज भट्टले सम्बोधन गरेका थिए ।

भदौ २३–२४ गते भएको आन्दोलनका बलमा गरिएको प्रतिनिधिसभा विघटनलाई गैरसंवैधानिक भएको निष्कर्ष निकालेको एमालेले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा जनमत सृजना गर्न जनप्रदर्शन गर्ने निर्णय गरेको हो ।

युथ भोलेन्टियर फोर्सको औपचारिक घोषणासहित मंसिर ६ गते काठमाडौं उपत्यकामा सभा गर्ने एमालेको तयारी छ ।

महाधिवेशन उद्‌घाटनको अवसरमा एमालेले मंसिर २७ गते काठमाडौंमा भव्य जनसभा गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया