काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
सर्वोच्च अदालतको फैसलापछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बसेको बैठकले असहमति भए पनि सर्वोच्चको फैसला मानेर अघि बढ्ने निष्कर्ष निकालेको नेता मीनबहादुर विश्वकर्माले बताए ।
सर्वोच्चको फैसलापछि आफूहरूले गगन थापालाई पार्टी सभापति मानेको उनले बताए । उनले हिजोदेखि पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापति भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मा सभापति गगन थापाको जिम्मेवारी भएको उनले बताए ।
उनले भने, ‘अब पार्टीलाई कसरी लैजाने भन्ने हिजो शेरबहादुर देउवाको खुट्टामा गोल थियो भने अब सर्वोच्च अदालतले अहिलेका विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको खुट्टामा अदालतले बल फाल्दिएको छ । त्यसैले उहाँले अब कसरी पार्टीलाई एकताबद्ध बनाउनुहुन्छ, कसरी पार्टीलाई ठूलो बनाउनुहुन्छ, कसरी पार्टीलाई भावनात्मक रूपले सबै एक स्वरले नेपाली कांग्रेसका पक्षमा आबद्ध हुने वातावरण बनाउनुहुन्छ, त्यो उहाँको खुट्टामा छ ।’