कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव

khaptadpress.com

काठमाडौं। नेपाली कांग्रेसले आगामी भदौमा २४ देखि २६ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्नेगरी प्रस्ताव गरेको छ।


मंगलबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका प्रस्तुत हुँदैछ । जस अनुसार यही चैत २१ गतेदेखि चैत मसान्तसम्म क्रियाशील सदस्यता फारम सबै तहमा पुर्‍याउने र सदस्यता वितरण तथा अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने प्रस्ताव छ ।

यस्तै, २०८३ वैशाख १ गतेदेखि मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ । 

प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्ने, सबै वडा र क्षेत्रीय कार्यसमितिलाई आईडी र पासवर्ड वितरण गर्ने र वैशाखभरि वडामा एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने कांग्रेसको प्रस्ताव छ ।

जेठ १ देखि १५ सम्म वडाबाट प्रतिनिधिसभा क्षेत्र र जिल्लामा क्रियाशील सदस्यता विवरण बुझाउनुपर्नेछ । 

कार्यतालिका अनुसार क्षेत्र र जिल्लाले इन्ट्री गरेर जेठ २५ गतेसम्म सदस्यता विवरण केन्द्रमा पठाउनुपर्ने, जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरि केन्द्रमा पठाउने अवधि पनि जेठ मसान्तसम्म प्रस्ताव गरिएको छ । 

प्रस्तावित कार्यतालिका अनुसार असार १५ गतेसम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरि टुंगो लगाउने भनिएको छ । 

जस अन्तर्गत प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र विवाद र सदस्य भएका स्थान पहिचान गरि सदस्यता रुजु तथा अध्ययन गर्ने एवं अन्तिम टुंगो लगाउने भनिएको छ । 

सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सदस्यताको अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई असार १५ सम्म बुझाइसक्नुपर्नेछ । 

आजको बैठकमा यससँगै उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा,  प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति आदि एजेण्डामा छलफल हुँदैछ ।

बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन र त्यसबाट कांग्रेसको पक्षमा आएको नतिजाबारे समीक्षा हुने छ। बैठक सभापति थापा नेतृत्वमा बस्न लागेको हो । 

केही दिनअघि पार्टी सभापति गगन थापाले राजीनामा दिएका थिए । निर्वाचनमा पराजय भोगेका कारण नैतिकता देखाउँदै उनले राजीनामा दिएको उल्लेख गरेका थिए । तर गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समिति बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो ।


प्रतिक्रिया