अछाम। अछामको मेल्लेख गाउँपालिका-१ ऋषीदहको वडा कार्यालयमा तोडफोड भएको छ।
सोमवार राति वडा कार्यालयमा तोडफोड हुँदा सम्पूर्ण सामाग्री नष्ट भएका छन्। राति साढे ११ बजेतिर स्थानी युवाहरुको समूहले मदिरा सेवन गरेर सम्पूर्ण सामाग्री नष्ट भएको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिए।
तोडफोडमा संलग्न भएको आशंकामा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ।
नियन्त्रणमा लिएकाहरुमा पृथ्वी विष्ट, नरेश धामी, लक्षि धामी, कुशल धामी, मनी धामी, नन्द धामी र शेर धामी रहेका छन्।
पक्राउ परेकाहरुले तोडफोडमा आफूहरुको संलग्नता नरहेको बताए पनि उनीहरुको शरीरमा फोटोकपी प्रिन्टर मेसिनको मसी लतपत्तिएको पाइएको धामीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बगुडा ठाँटीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बुझिएको छ।
वडाअध्यक्ष धामीका अनुसार तोडफोडबाट चारवटा दराज, तीनवटा ल्यापटप, डेस्कटप, प्रिन्टर र फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेटको राउटर, कुर्सी तोडफोड तथा तथा सम्पूर्ण कागजातहरु च्यातेर नष्ट पारिएको छ। पक्राउ पर्नेहरु २०-२४ वर्ष उमेर समूहका रहेको बुझिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको बुझिएको छ।