जनार्दन र कार्कीले छाडे माओवादी केन्द्र, प्रगतिशील अभियान नेपाल घोषणा

khaptadpress.com

काठमाडौं। माओवादी केन्द्रका नेता जनार्दन शर्मा माओवादी छाडेका छन्।

उनले मंगलबार पत्रकार सम्मेलन गरी प्रगतिशील अभियान नेपाल नामक अभियानको घोषणा गरेका हुन्।

शर्माले घोषणा गरेको अभियानमा राम कार्की, अञ्जना विसंखे पनि सहभागी छन्। मंगलबारको पत्रकार सम्मेलनमा दुवै नेता सहभागी थिए।

शर्मा सहितका नेताले माओवादी आन्दोलनका बाँकी रहेका कार्यभार पूरा गर्दै वाम आन्दोलनलाई नयाँ ढंगले पुनःगठन गर्ने बताएका छन्।

एकीकृत समाजवादीबाट असन्तुष्ट रहेका झलनाथ खनाल, घनश्याम भूसालसहितका नेता पनि शर्मा, कार्कीसहितका नेतासँग संवादमा छन्।

नेता जनार्दन शर्माले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको नीतिमा आत्मसमर्पण गरेको आरोप लगाएका छन्।

पत्रकार सम्मेलनमा शर्माले आफूसहित केही नेताले त्यसलाई अस्वीकार गर्दै पार्टी पुनःगठनसहितको प्रगतिशील अभियान सञ्चालन गर्ने बताएका हुन्।

‘अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो। उतै जानुभयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौं र हामीले नयाँ ढंगले पुनर्गठनसहित प्रगतिशील अभियान सञ्चालन गर्ने अठोट गरेका छौं,’ उनले भने।

सहिदका बलिदानलाई खेर जान नदिने र तिनको जिम्मेवारी लिई पूरा गर्ने आफूहरूको अठोट रहेको पनि उनले बताए।

‘माओवादी केन्द्रको एउटा आयोजक समितिको रूपमा रहेको थियो। महाधिवेशन आयोजक समितिले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर जुन एकताको नाटक गरेको छ, त्यसको अधिकार क्षेत्रभित्र नै छैन,’ उनले भने, ‘त्यसो गर्न पाउँदै पाउँदैन आयोजक समितिले। महाधिवेशन आयोजक समितिले त महाधिवेशन गर्ने भनेको छ। त्यो महाधिवेशन सम्पन्न गर्न लाग्नुको सट्टा अनेक गरेर महाधिवेशन टार्ने, पार्टीभित्र विधि, पद्धति स्थापित गर्न नदिने। प्रतिस्पर्धाबाट नेतृत्व स्थापित गर्न नदिने उद्देश्यबाट प्रेरित भएर, आफ्नो स्वार्थ केन्द्रित समूहलाई वरिपरि केन्द्रित गरिराख्ने उद्देश्यबाट आज जुन खालको एकता भइरहेको छ, त्यसले कुनै न निकास दिने छ, न जनताको समर्थन प्राप्त गर्नेछ।’

उनले आजैदेखि एकीकृत पार्टीमा भद्रगोल सुरू भएको बताए।

‘हजारौंका केन्द्रीय कमिटीहरू बन्दैछन्। सयौंको सचिवालय बन्दैछन्। त्यसको कुनै अर्थ रहनेछैन। त्यसले सांगठनिक अराजकता, विधिहीनतालाई स्थापित गर्नेछ,’ उनले भने।

अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालजीको नीतिमा, उतैतिर आत्मसमर्पण गर्नुभयो।

उतै जानुभयो। हामीले त्यो कुरालाई स्वीकार गरेनौं। हामीले त्यो कुरा स्वीकार गरेनौं। र, हामीले नयाँ ढंगले पुनर्गठनको र प्रगतिशील अभियान सञ्चालन गर्ने एउटा हामीले अठोट गरेका छौं।

त्यसकारण सहिदका बलिदानलाई खेर जान नदिने र तिनको जिम्मेवारी लिई पूरा गर्ने हाम्रो अठोट छ।

प्रतिक्रिया