काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला कुनै जित–हारको विषय नभएर विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको बताएका छन्।
शुक्रबार सर्वोच्च अदालतले थापा नेतृत्वको विशेष महाधिवेशन पक्षलाई आधिकारिकता दिने फैसला गरेपछि थापाले शनिवार सामाजिक संजालमा यस्तो प्रतिक्रिया दिएका हुन्।
थापाले भनेका छन्-"सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।"
पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने आफूले विश्वास लिएको पनि उनले स्पस्ट पारेका छन्। पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो नै हो भन्नेमा स्पष्ट रहेको भन्दै थापाले त्यसअनुसार सक्रिय रूपमा लाग्ने प्रतिवद्धतासमेत जनाए।
उनले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेकाले महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न पनि सबैलाई आग्रह गरे।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब सबै एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको थापाको भनाई छ।