ताम्राकारले सम्हालिन मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

khaptadpress.com

अछाम। अछामको मेल्लेख गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा संगिता ताम्राकारले पदभार ग्रहण गरेकी छिन्। आइतबार एक कार्यक्रमकाबीच ताम्राकारले निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेकी हुन्।

गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँदले मन्त्रालयले जिम्मेवारी दिएको पत्र ताम्राकारलाई हस्तान्त्रण गरे। सो अवसरमा अध्यक्ष साउँदले खादा लगाएर ताम्राकारलाई बधाई ज्ञापन गर्दै अध्यक्ष साउँदले पालिकामा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे।


पदभार ग्रहण गर्दै ताम्राकारले जनप्रतिनिध,राजनीतिक दल, कर्मचारी,संचारकर्मीलगायत सबैको सहयोग भए मात्र प्रमुख प्रशासकीय अधिकृतले काम गर्न सक्ने बताइन्। उनले आफू जिम्मेवारीमा रहँदासम्म मेल्लेखको विकास, सम्वृद्धि र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन्।

ताम्राकार अछामका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने पहिलो महिला कर्मचारी हुन्। आर्थिक जिम्मेवारीसहित ताम्राकारलाई वरिष्ठतम कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा (४) अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो।

२०७६ सालमा स्थानीय सेवामा खुलातर्फ पहिलो प्रयासमै स्थायी जागिरमा प्रवेश गरेकी ताम्राकार प्रशासनतर्फको स्थायी भएपछि पहिलो पटक दार्चुलाको मार्मा गाउँपालिकामा कार्यरत थिइन्। त्यहाँबाट सरुवा भएर २०७९ देखि ताम्राकार मेल्लेखमा प्रशासन शाखा प्रमुखको रुपमा सेवा गर्दै आएकी छन्।

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्म उनले अध्ययन गरेकी छिन्। पदभार ग्रहण कार्यक्रममा केशर बहादुर साउँद, गोकुश शाह, शिवराज खत्रीलगायतले विभिन्न सुझावसहित बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएका थिए। 

प्रतिक्रिया