काठमाडौं। नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको केही पदमा निर्विरोध भएको छन्।
केन्द्रीय निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीमा तोकिएको कोटा र परेको उम्मेदवारी संख्या बराबर भएपछि उनीहरू सर्वसम्मत भएका हुन्।
पार्टीका दुई महत्वपूर्ण आयोगहरू, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको शीर्ष नेतृत्व चयनमा कुनै प्रतिस्पर्धा नहुने भएको छ। दुवै आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा एकल उम्मेदवारी परेको छ।
अनुशासन आयोगको अध्यक्षमा प्रा. डा. भरतराज पहारी, उपाध्यक्षमा चक्र बहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध भएका छन्। त्यस्तै, केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेलको मात्र उम्मेदवारी परेकाले उनीहरू पनि सर्वसम्मत निर्वाचित भएका छन्।
यसैगरी मधेशी क्लस्टरमा युवा (कोटा २)मा अमर कुमार यादव र रोनित शाह निर्विरोध भएका छन्। मुस्लिम क्लस्टरमा महिला (कोटा १)मा खाजिदा खातुन सिद्धिकी निर्विरोध भएकी छिन् भने श्रमिक क्लस्टरमा महिला (कोटा २)मा कमला देवी तामाङ र सिता लामा निर्विरोध भएका छन्।
यसैगरी पिछडिएको क्षेत्रमा महिला (कोटा १) मा वदमी क्वारी बुढा (बोहरा) निर्विरोध भएकी छिन्।
यसैगरी प्रवास क्षेत्रमा दक्षिण एसिया (कोटा १)मा हरि प्रसाद घिमिरे निर्विरोध भएका छन् भने केन्द्रीय सदस्य (खुला युवा)को युवा (कोटा २)मा नरेश रोकाया र सुशिल कुमार थापा निर्विरोध भएका छन्।
आयोगले अन्तिम नामावली सार्वजनिक गरेसँगै यी पदहरू बाहेकका अन्य पदमा भने अब मतदान प्रक्रिया अगाडि बढ्नेछ।