हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा सोच बिचार गरेर निर्णय हुन्छ : खड्का

khaptadpress.com

काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समयको पदचापलाई सामना गर्न सक्ने निर्णय गर्न केही समय लागेकोले धैर्य गर्न अपिल गरेका छन्।

कार्यवाहक सभापति खड्काले देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिलो भएको बताएका हुन्।

एक महिना केन्द्रीय समिति बैठक चले पनि अहिलेसम्म महाधिवेशनसहित केही निर्णय लिन नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ।

`मेरो बारेमा सार्वजनिक रुपमा यहाँहरुले गर्नु भएको जस्ताे सुकै टिप्पणीलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणी नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छ्न्,´ खड्काले आज सामाजिक सन्जाल फेसबुकमा पोस्ट गरेका छन्, `इतिहासमै देश र पार्टीमाथि देखिएकाे प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न सक्ने गरी निर्णय गर्न केही समय लागेको छ।´

सबैले एकाताबद्ध भएर यो महत्वपूर्ण मर्मलाई बुझिदिन र धैर्यता राखिदिन पनि कार्यवाहक सभापति खड्काले अपिल गरेका छन्।

गत असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक चले पनि नेताहरूले बोल्ने क्रम सकिएर सहमति खोज्ने भन्दै बैठक स्थगित भएको छ। अब सोमबार दिउँसो केन्द्रीय समिति बैठक बस्नेछ।

कांग्रेसमा चुनावअघि वा पछि नियमित महाधिवेशन गर्ने कि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर मागेअनुसार विशेष महाधिवेशन गर्ने भन्नेमा मतभेद छ।

उपचार गर्न सिंगापुर गएका सभापति शेरबहादुर देउवा पनि शुक्रबार बेलुकी स्वदेश फर्किएका छन्।


प्रतिक्रिया