कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, के होला महाधिवेशन?

khaptadpress.com

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपमा बस्नेगरी बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।


सभापति शेरबहादुर देउवाले निकटस्थसँग छलफल गरेपछि बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ। 

यसअघि बिहीबार सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगको छलफल स्थगित गरेका थिए । उनले बिहीबार साँझ ५ बजे महामन्त्रीद्वय थापा र शर्मालाई छलफलका लागि बोलाएका थिए । तर,  अन्तिम समयमा उनीहरूलाई नबस्ने भन्दै जानकारी पठाएका थिए । 

कांग्रेस पार्टी मुख्यसचिव पौडेलका अनुसार महामन्त्रीद्वयसँग देउवाले आज छलफल गर्ने तयारी गरेका छन् । ‘सभापतिज्यूले आज अनुकूल समयमा उहाँहरूलाई बोलाएर छलफल गर्नुहुन्छ,’ पौडेलले भने । महामन्त्रीद्वयले पार्टीको विशेष महाधिवेशन गर्ने भन्दै हल बुकिङ गरेपश्चात् देउवाले छलफलमा बोलाएका हुन् ।

निर्धारित मितिमा नियमित महाधिवेशन नहुने देखिएपछि बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगितको घोषणा गरेका थिए ।

उनीहरूले अब विशेष महाधिवेशन हुनुपर्ने जिकिर गर्दै आएका छन् । यसका लागि भृकुटीमण्डपमा हल बूक भइसकेको छ। महामन्त्री थापा केही दिन धुलिखेल बसेर विशेष महाधिवेशनका लागि आवश्यक 'डकुमेन्ट'को काम गर्ने तयारीमा छन् ।

सभापति शेरबहादुर देउवा र बहुमत केन्द्रीय नेतृत्व संस्थापन पक्षमा छन्। संस्थापन पक्षले कुनै पनि हालतमा नियमित महाधिवेशन नै गर्ने दाबी गर्दै आएको छ।

नियमित अधिवेशन पुस १६ बाट वडाबाट थालिने भनिए पनि हुन सकेन । त्यसलाई स्वीकार गर्दै संस्थापन पक्ष सम्भव हुने अर्को मिति तय गरेर नियमित अधिवेशन गर्नुपर्छ भन्ने पक्षमा छ।

प्रतिक्रिया