बाजुरा। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरा जिल्लामा पनि अन्यत्रजस्तै चहलपहल बढेको छ । उम्मेदवारहरू यतिबेला गाउँ बस्तीमा गएर भोट माग्न व्यस्त छन् ।
यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ८ जना उम्मेदवार छन् । उम्मेदवारहरू गाउँ–गाउँमा आएर मतदातासँग भेटघाट गरिरहेको हिमाली गाउँपालिकाकी ब्रिमा शाहीले बताइन् ।
‘नेताहरू भोट माग्दै हात जोडिरहनु भएको छ । पहिला पनि चुनावको समयमा उम्मेदवारहरू यसरी नै भोट माग्न आउँथे तर हाम्रो दुःख यस्तै हो, केही कम भएको छैन । जितेर गएपछि कसैले फर्केर पनि हेर्दैनन् हामीलाई,’ उनले भनिन् ।
यहाँका मतदाताहरू टोल–टोलमै सल्लाह गरेर भोट दिने गरेको ब्रिमाले बताइन् । बाजुरामा चुनावमा झडप पनि हुने गर्छ । यस पटक शान्त वातावरणमा विवादरहित चुनाव सम्पन्न गर्न उनी आग्रह गर्छिन् ।
बुढीगंगा नगरपालिकाका बासिन्दा मनवहादुर विक पनि अहिलेको चुनावमा आफूहरूले काम गर्नेलाई भोट दिने बताउँछन् । यसपटकको चुनावमा बाजुरामा मुख्य प्रतिस्पर्धा परम्परागत राजनीतिक शक्तिहरूकै बिचमा हुने अनुमान गरिए पनि नयाँ र विद्रोही उम्मेदवारहरूको उपस्थितिले नतिजालाई रोचक मोडमा पुर्याउने देखिन्छ ।
सत्तारूढ दल नेपाली कांग्रेसले यसपटक ६० वर्षीय जनकराज गिरीलाई उम्मेदवार बनाएको छ । गिरीले कार्यकर्ताको बाक्लो उपस्थितिसहित उम्मेदवारी दर्ता गरेर घरदैलो अभियान सुरु गरिरहेका छन् ।
उता, नेकपा एमालेका तर्फबाट ५८ वर्षीय नेता लालबहादुर थापा मैदानमा छन् । बाजुराको विकास र समृद्धिको एजेन्डासहित थापाले आफ्नो प्रचारप्रसारलाई तीव्र पारेका छन् । उनको पक्षमा माहोल बनाउन एमालेका कार्यकर्ता सक्रिय देखिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले प्रकाश शाहलाई उम्मेदवार बनाएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३३ वर्षीय युवा नेता हेमराज थापाले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिमलाई केन्द्रसँग जोड्न निरन्तर आवाज उठाउँदै आएका हेमराज युवापुस्ता माझ लोकप्रिय मानिन्छन् । अहिले रास्वपाको पक्षमा देखिएको माहोल उनका लागि सबल पक्ष बनेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ३९ वर्षीय भुपेन्द्र विक (लुहार)लाई उम्मेदवार बनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ७३ वर्षीय केशरबहादुर शाही र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ४० वर्षीय दीपक डिसी उम्मेदवार छन् । यहाँ सबैभन्दा कान्छो उम्मेदवारको रूपमा ३० वर्षीय उपेन्द्र विक्रम शाहीले स्वतन्त्र उम्मेदवारी दिएर युवाहरूको भोट तान्ने रणनीति बनाएका छन् ।
ठुला दलहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश शाह नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभाका पूर्व संसदीय दलका नेता, पूर्वमन्त्री पनि हुन् । उनले एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
बाजुराको चुनावी इतिहास हेर्ने हो भने यहाँ सधैँ नेपाली कांग्रेस र नेकपा एमालेबिच मुख्य प्रतिस्पर्धा हुने गरेको छ । विगतका नतिजाहरूले दुवै दलको शक्ति सन्तुलन लगभग बराबरीको अवस्थामा देखाउँछ ।
२०४८, २०५६, २०६४ र २०७९ सालका निर्वाचनमा नेपाली कांग्रेसले बजुरामा नतिजा आफ्नो पक्षमा पारेको थियो भने २०५१, २०७० र २०७४ सालमा नेकपा एमालेले जितेको थियो ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनको नतिजालाई विश्लेषण गर्दा नेपाली कांग्रेसका बद्री पाण्डेले ३१ हजार ७८६ मत ल्याएर एमालेका कर्णबहादुर थापालाई पराजित गरेका थिए । थापाले २६ हजार ३४९ मत पाएका थिए ।
सो निर्वाचनमा बुथ कब्जा र झडपका कारण दुई युवाको ज्यान गएको थियो भने मतगणना समेत केही दिन रोकिएको थियो । त्यो बेला ९ वटा पालिकामध्ये हिमाली, त्रिवेणी, खप्तड छेडेदह र स्वामिकार्तिक खापर गाउँपालिकाबाट कांग्रेस नेतृत्वको गठबन्धनले फराकिलो अग्रता लिएको थियो ।
समानुपातिकतर्फको मत हेर्दा २०७९ मा नेपाली कांग्रेसले २७ हजार ९७२ र नेकपा एमालेले २६ हजार २९९ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रले १ हजार ९७९ र एकीकृत समाजवादीले १ हजार ७२८ मत ल्याएका थिए । यहाँ रास्वपाले २३५ र राप्रपाले १७८ मतमात्र पाएका थिए ।
यसपटक समीकरण बदलिएको छ । अघिल्लो पटक गठबन्धनको बलमा चुनाव जितेको कांग्रेस यसपटक एक्लै मैदानमा छ भने एमाले पनि आफ्नो पुरानो साख फर्काउने दाउमा छ ।
यसपटक एमालेका लागि सबैभन्दा ठुलो टाउको दुखाइ आफ्नै पूर्वनेता प्रकाश शाह बन्न सक्ने देखिन्छ । ५३ वर्षीय शाह बाजुराको राजनीतिमा स्थापित नाम हो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा बाजुरा (२) बाट १८ हजार १८६ मत ल्याएर कांग्रेसका पदम शाहीलाई हराउँदै विजयी भएका शाहले चार वर्षसम्म सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिलामन्त्री भएर काम गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जबजको मर्म विपरीत काम गरेको भन्दै एमालेबाट अलग भएका उनी भीम रावलको मातृभूमि जागरण अभियानमा आवद्ध भएका थिए । एमालेको संगठनभित्र बलियो पकड बनाएका शाहले अहिले पनि एमालेको केही मत काट्ने आकलन गरिएको छ । शाहले काट्ने भोटले एमाले उम्मेदवार लालबहादुर थापालाई धक्का लाग्न सक्ने अनुमान गरिएको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दिपक डिसी पनि यो क्षेत्रमा ठुला दलका लागि चुनौती बनेका छन् । खप्तड छेडेदह–३, गुदुमा जन्मिएका डिसीले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्रमा स्नाकोत्तर अध्ययन गरेका छन् ।
२०५७ सालमा विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका उनी अखिल क्रान्तिकारीको सुदूरपश्चिम अध्यक्ष हुँदै माओवादीको केन्द्रीय उपमहासचिवसम्म पुगेका थिए । पछिल्लो समय माओवादी नेतृत्वसँग असन्तुष्ट हुँदै उनले नयाँ राजनीतिक यात्रा सुरु गरेका हुन् ।
‘हामीले पार्टीमा पुस्तान्तरण र हस्तान्तरणको कुरा उठायौँ, तर नेतृत्व सच्चिएन,’ डिसीले भने, ‘अब भुइँ मान्छेको आवाज बोल्न, शिक्षा, स्वास्थ्य र रोजगारका लागि नीति निर्माण गर्न म संसद् जान चाहन्छु ।’
डिसीले माओवादीको परम्परागत भोट बैंकमा प्रभाव पार्ने अनुमान गरिएको छ । यसले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शाहको भोट पनि काटिन सक्छ । शाहलाई एमालेको संगठनको पनि बलियो साथ छैन । माओवादी भोट काटिनु, त्यसैमाथि एमालेको भोट सबै नआउनु, अन्य सद्भाव तथा चिनजानका नाममा आउने भोट पनि नयाँ पार्टीले काटेपछि प्रकाश शाहलाई चुनौती उत्तिकै छ ।
यस्तै कांग्रेसका जनकराज गिरीलाई पनि यस पटक त्यति सहज छैन । साविकका माओवादी, नेकपा एकीकृत समाजवादीको भोट प्रकाश शाहलाई जाने भएकाले अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवारले हासिल गरेको मतकै हाराहारीमा पुग्न एक्लो चुनाव लडेको कांग्रेसलाई चुनौती अवश्य छ ।
एमालेमा पनि चुनौती नभएको होइन । पार्टीभित्रका असुन्तुष्ट पक्षले प्रकाश शाहलाई भोट दिने देखिन्छ । नयाँ मतदाताहरूलाई आफ्नो पक्षमा तान्न र पार्टीभित्रका असन्तुष्टि मेटाउन एमालेलाई सहज छैन ।
यहाँ रास्वपाका उम्मेदवार हेमराज थापाले प्रमुख दलहरूलाई चुनौती दिने देखिन्छ । प्रमुख दलहरूको भोट रास्वपाले मात्र होइन, राप्रपा, विप्लव नेतृत्वको नेकपा माओवादी र स्वतन्त्र उम्मेदवारले पनि काट्ने देखिन्छ ।
बाजुराको राजनीतिक अवस्थालाई नजिकबाट नियालिरहेका स्थानीय शिक्षक एवं विश्लेषक धनबहादुर बोहरा यसपटकको चुनाव विगतभन्दा फरक र पेचिलो हुने बताउँछन् । ‘विगतमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेकै बिचमा हुन्थ्यो र मतदाता पनि तिनै दुई दलमा विभक्त थिए, तर यसपटक विकल्प धेरै छन् । त्यसैमाथि दलहरू एक्लाएक्लै चुनावमा छन्,’ उनले भने ।
बोहराका अनुसार बाजुराका जनता अब पार्टीको झन्डा हेरेरमात्र भोट हाल्ने पक्षमा छैनन् । यहाँको भूगोल, गरिबी र अभावलाई बुझेर जसले समाधानको स्पष्ट खाका दिन्छ, उसैले बाजी मार्ने सम्भावना रहेको उनको भनाइ छ । रातोपाटीबाट