काठमाडौं। आईसीसी टी–२० विश्वकपको १०औं संस्करण आज (शनिबार)देखि शुरू हुँदैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपका खेलहरू यी दुई राष्ट्रका विभिन्न शहरमा खेलाइने छन्। प्रतियोगिता मार्च ८ तारिखसम्म चल्नेछ। टी–२० विश्वकप दुई राष्ट्रले आयोजना गर्न लागेको यो तेस्रोपटक हो।
भारतले सन् २००७ र सन् २०२४ मा उपाधि जितेको थियो। वेस्ट इन्डिजले सन् २०१२ र सन् २०१६ तथा इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा उपाधि चुमेका थिए। यसैगरी, अस्ट्रेलिया, पाकिस्तान र श्रीलंकाले पनि एक–एकपटक उपाधि कुम्ल्याएका छन्। पाकिस्तानले सन् २००९, श्रीलंकाले सन् २०१४ र अस्ट्रेलियाले सन् २०२१ मा उपाधि जितेका थिए।
विश्वकपमा इङ्ल्यान्ड, भारत, वेस्ट इन्डिज, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको यो १०औं सहभागिता हुनेछ। आयरल्यान्डले नवौं र अफगानिस्तानले आठौंपटक विश्वकप खेल्न लागेका हुन्। नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाब्वेले भने सातौंपटक विश्वकपमा सहभागिता जनाउन लागेका हुन्।
टी–२० विश्वकपमा नामिबिया र ओमानको चौथो सहभागिता हुनेछ। नेपाल र यूएईले भने तेस्रोपटक विश्वकप खेल्न लागेका हुन्। यसैगरी, अमेरिका र क्यानडाको टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हुनेछ। इटालीले भने पहिलोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो।
टी–२० विश्वकपको १०औं संस्करणमा सहभागी सबै राष्ट्रले आफ्नो अन्तिम टोलीको घोषणा गरिसकेका छन्। अधिकांश सहभागी टोलीले दुई–दुईवटा औपचारिक अभ्यास खेल पनि खेलिसकेका छन्।
समूह ‘ए’ मा भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान र अमेरिका छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन्।
यसैगरी, समूह ‘सी’ मा नेपाल, इङ्ल्यान्ड, इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिज छन्। समूह ‘डी’ मा भने अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।
समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछन्। समूहगत चरणको खेल फेब्रुअरी २० तारिखसम्म चल्नेछ।
‘सुपर–८’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ। त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन्। ‘सुपर–८’ चरण मार्च १ तारिखसम्म चल्नेछ।
पहिलो सेमिफाइनल खेल मार्च ४ र दोस्रो सेमिफाइनल खेल मार्च ५ मा हुनेछ। सेमिफाइनलमा विजयी दुई टोलीबीच मार्च ८ तारिखमा फाइनल खेल हुनेछ। यो विश्वकपमा कुल ५५ खेल हुने छन्।
यसैगरी, पहिलो दिनको तेस्रो खेल भारत र अमेरिकाबीच खेलिने छ। भारत र अमेरिकाबीचको खेल १९:१५ बजे मुम्बईको वानखेडे स्टेडियममा हुनेछ।
यसैगरी, नेपालले आफ्नो दोस्रो खेल फेब्रुअरी १२ तारिखमा इटालीसँग खेल्नेछ। नेपाल र इटालीबीचको खेल पनि मुम्बईको वानखेडे स्टेडियममै दिउँसो १५:१५ बजे शुरू हुनेछ।
इटाली युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै यो विश्वकपमा उपस्थित भएको हो। युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा नेदरल्यान्ड्स पहिलो र इटाली दोस्रो भएका थिए।
समूहगत चरणको अन्तिम खेल नेपालले फेब्रुअरी १७ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ। नेपाल र स्कटल्यान्डबीचको खेल पनि मुम्बईको वानखेडे स्टेडियममै साँझ १९:१५ बजे शुरू हुनेछ।
यसको प्रमुख कारण थियो, भारत र बंगलादेशबीच विकसित पछिल्लो राजनीतिक सम्बन्धको प्रत्यक्ष प्रभाव खेलकुदमा पर्नु। पछिल्लो समय बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि एकपछि अर्को हिंसात्मक घटना भइरहेको भन्दै भारतमा व्यापक विरोध हुँदै आएको छ।
यसरी विरोध बढ्दै गएपछि फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)मा समेत कुनै पनि बंगलादेशी खेलाडीलाई खेलाउन नहुने माग भारतमा उठ्न थाल्यो। त्यसअघि, आईपीएलको अक्सनमा कोलकाता नाइट राइडर्सले बंगलादेशका प्रभावशाली तीव्र गतिका बलर मुस्तफिजुर रहमानलाई नौ करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।
तर, पछिल्लो राजनीतिक घटनाक्रमपछि भारतीय समर्थकले आगामी आईपीएलमा मुस्तफिजुर रहमानलाई पनि खेलाउन नहुने माग राखेर आन्दोलन अगाडि बढाए। त्यसपछि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई टोलीबाट हटाउन कोलकाता नाइट राइडर्सलाई निर्देशन दियो।
तर, आईसीसी बंगलादेशको मागमा सहमत भएन। त्यसपछि सरकारी अधिकारीहरूसँग छलफल गरेर बीसीबीले आगामी विश्वकप बहिस्कार गर्ने निर्णय लियो। अन्तिम समयमा आएर बंगलादेशले विश्वकप बहिस्कार गरेपछि आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराउने निर्णय लिएको थियो।
बंगलादेशी टोली पनि नेपालसँग समूह ‘सी’ मा रहेको थियो। त्यसैले नेपाली टोलीले बंगलादेशको स्थानमा स्कटल्यान्डसँग खेल्नु परेको हो। बंगलादेशको यो निर्णयको असर भारत र पाकिस्तानबीचको खेलमा पनि पर्न गयो। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आईसीसीलाई बंगलादेशको माग पूरा गर्न सुझाव दिएको थियो।