काठमाडौं। नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ । नेपाली कांग्रेसले आइतबार काठमाडौंको ५ र ६ गरेको संयुक्त चुनावी सभामा कांग्रेस सभापति गगन कुमार थापा र कांग्रेस बीपीका सभापति सुशील शेरचनले सहमती पत्रमा हस्ताक्षर गरेका हुन्।
कांग्रेसका निर्वाचन समितिका संयोजक सिताराम केसी र कांग्रेस (बीपी)का वरिष्ठ नेता कर्णबहादुर मल्लबीच पार्टी एकताका लागि सहमतीका आधार तय गरेका थिए । त्यही आधारमा समाहित भएको हो ।
शेरचनको टोलीले गत पुस १४ गते तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पार्टीमा समाहित हुन चाहेको प्रस्ताव राखेका थिए। गत पुसमा विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बनेपछि कांग्रेस बीपीका नेताहरूले फेरि एकता संवाद अगाडि बढाएका थिए र आज अन्ततः एकता भएकाे छ।
कांग्रेस बीपीको संगठन देशभर ५४ जिल्ला र सातै प्रदेशमा फैलिएको छ। १५१ सदस्यीय केन्द्रीय समितिमा हाल १२२ जना मात्रै सक्रिय छन्, बाँकी पदाधिकारी र सदस्यहरू पहिले नै कांग्रेसमा प्रवेश गरिसकेका थिए। डडेल्धुरामा भने वडा तहसम्म संगठन कायम छ। जिल्लाका ५२ वडामा, सात पालिका, दुई प्रदेश र जिल्ला कार्यसमिति रहेका छन्।
पूर्व जिल्ला सभापति कर्ण मल्ल कांग्रेस बीपीमा प्रवेशपछि डडेल्धुरामा राम्रो जनमत देखिएकाे थियाे। २०७९ को निर्वाचनमा मल्लले देउवाविरुद्ध उम्मेदवारी दिँदा ७,५३५ मत ल्याएका थिए।
त्यस्तै, प्रदेशसभा २ मा कांग्रेस बीपीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार तारा जोशीले कांग्रेसका गोविन्द बोहरालाई पराजित गर्दै ११,१६१ मत प्राप्त गरेका थिए।
स्थानीय निर्वाचनमा पनि कांग्रेस बीपीले डडेल्धुरामा दुई वडाध्यक्ष जितेको थियो। अमरगढी–८ का वडाध्यक्ष नरबहादुर साकी र गन्यापधुरा–१ का अध्यक्ष नरेश भण्डारी विजयी भएका थिए।
विश्लेषकहरूले कांग्रेस बीपीकाे आगमपछि कांग्रेसलाई केही हजार मत समानुपातिकतर्फ थपिने अनुमान गरेका छन्। तर मुख्य लाभ कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई हुने देखिन्छ।
गत निर्वाचनमा डडेल्धुरामा कांग्रेसले समानुपातिकतर्फ १८,५६२ मत पाएको थियो, एमाले ९,२१४, नेकपा ९,३७२, कांग्रेस बीपी ४,५१४, रास्वपा ३,६५० र राप्रपा १,५०० मत पाएका थिए।