काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेका छन्।
बुधबार जारी विज्ञप्तिमार्फत उनले हालको स्वरूपमा मोर्चाको औचित्य समाप्त भएको निष्कर्षसहित अलग भएको घोषणा गरेका हुन्।
विप्लवले २०८० सालमा राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण, जनजीविकाको पक्षमा र भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्देश्यले चार दल मिलेर समाजवादी मोर्चा गठन गरिएको स्मरण गरेका छन्। उनका अनुसार मोर्चाले केही कार्यक्रम सञ्चालन गरे पनि अपेक्षित गतिमा काम अगाडि बढ्न सकेन।
उनले जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेशमा व्यापक परिवर्तन आएको र नयाँ प्रकारका एकता तथा मोर्चाबन्दीहरू सुरु भइसकेको उल्लेख गरेका छन्।
‘समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिसकेका छन्। यस्तो परिस्थितिमा आजको स्वरूपमा मोर्चाको औचित्य समाप्त भएको हाम्रो निष्कर्ष हो,’ विप्लवले भनेका छन्।
उक्त निष्कर्षका आधारमा नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिँदै उनले सबै पक्षलाई धन्यवाद ज्ञापन गरेका छन्।
यसअघि समाजवादी मोर्चामा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र नेसपा थिए । तर, तीन वटै दल एकता प्रक्रियामा गएर हालै नेपाली कम्युनिस्ट पार्टी भएका छन् । विप्लव भने एकता प्रक्रियामा गएका थिएनन् । विप्लवको घोषणासँगै मोर्चा विघटनमा पुगेको छ ।