काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रनको योगदान गरे । छैटौं नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी दुई छक्का र एक चौका पनि हिर्काए ।
सातौं नम्बरका ब्याट्सम्यान हरमित सिंहले पनि टोलीका लागि १९ रनको योगदान गरे । हरमितले १६ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । दीपेन्द्र र हरमितले ४८ रनको साझेदारी गरे ।
आरिफ शेखले पनि टोलीको खातामा २७ रन थपे । उनले २५ बलमा तीन चौका हिर्काए । क्रिस लिन भने २० बलमा दुई चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका थिए ।
सुदूरपश्चिमले पहिलो ओभरको पहिलो बलमै ओपनर जोस ब्राउनलाई गुमाएको थियो । अर्का ओपनर विनोद भण्डारी पनि १३ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
नरेश साउद खाता खोल्नुअघि नै पेभेलियन फर्किए । स्कट कुग्गेलेइजनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए ।
हेमन्त धामी एक र अविनाष बोहरा एक रनमा अविजित रहे । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा पनि ११ रन पायो । कर्णाली याक्सका बलर सोमपाल कामीले तीन विकेट लिए ।
कप्तानसमेत रहेका सोमपालले चार ओभरमा एक मेडन राख्दै ३२ रन खर्चिए । नन्दन यादवले दुई विकेट हात पारे । मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले पनि एक/एक विकेट लिए