अछाम। नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने व्यक्ति डा. बाबुराम भुल बनेका छन्।
अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३, बरदादेवी भुवामाझ घर भएका भुुललाई विश्वविद्यालयले बुधवार उनलाई औपचारिक रूपमा विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।
विश्वविद्यालय प्रशासनका अनुसार डा.भुलले व्यवस्थापन तथा कानुन संकाय अन्तर्गत डक्टर अफ फिलोसफी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि पूरा गरेका हुन् । उनी हाल महालेखा परीक्षकको कार्यालयमा लेखा परीक्षण अधिकारी (शाखा अधिकृत)का रूपमा कार्यरत छन्।
भुलले नेपाल खुला विश्वविद्यालयमार्फत ‘प्रतिनिधिमूलक कर्मचारीतन्त्र: नेपालको निजामती सेवामा सीमान्तकृत समुदायका व्यक्तिमा सकारात्मक विभेद (आरक्षण) सम्बन्धी दृष्टिकोण र संगठनात्मक प्रतिबद्धताबीचको सम्बन्ध’ शीर्षकमा अनुसन्धान गरेका हुन् । उक्त अनुसन्धान किनारीकृत समुदायका कर्मचारीको आरक्षणप्रतिको धारणा र संगठनप्रतिको प्रतिबद्धताबीचको सम्बन्धमा केन्द्रित छ।
उनको अनुसन्धानले नेपालको निजामती सेवामा कार्यरत सीमान्तकृत समुदायका कर्मचारीको संस्थागत प्रतिबद्धता, समावेशी शासन र सार्वजनिक नीति निर्माणमा वैज्ञानिक आधारसहित नयाँ बहस र दृष्टिकोण प्रदान गर्ने विश्वविद्यालयको विश्वास छ।
विशेषगरी आरक्षण नीतिको प्रभावकारिता र संगठनात्मक कार्यसम्पादनबीचको अन्तरसम्बन्धलाई उजागर गर्ने प्रयासका रूपमा यो अध्ययनलाई महत्त्वपूर्ण मानिएको छ।
डा.भुलले अछामस्थित सरस्वती माध्यमिक विद्यालय, जयगढबाट २०६४ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र, राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर, कानुनमा स्नातक तथा एमफिलसम्मको अध्ययन पूरा गरेका छन्।
विश्वविद्यालयका अनुसार डा.भुल सम्भवतः भुल समुदायबाट विद्यावारिधि हासिल गर्ने पहिलो व्यक्ति हुन् । यस उपलब्धिलाई व्यक्तिगत सफलतासँगै सीमान्तकृत समुदायका लागि उच्च शिक्षामा पहुँच र प्रतिनिधित्वको दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ ।
डा.भुललाई आगामी माघ ११ गते हुने नेपाल खुला विश्वविद्यालयको दीक्षान्त समारोहमा औपचारिक रूपमा दीक्षित गरिनेछ । दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले उनलाई दीक्षा प्रदान गर्ने कार्यक्रम तय भएको छ ।