काठमाडौं । नेकपा एमालेले ’नेसनल भोलेन्टियर्स फोर्स’को कमान्ड सात वटा फौजदारी मुद्दा खेपेका पुष्पराज श्रेष्ठलाई सुम्पेको छ ।
आज शुक्रबार थापाथलीस्थित कार्की बेङ्क्वेटमा भएको एक कार्यक्रममा भोलेन्टियर्स फोर्सको संयोजकको जिम्मेवारी एमालेले सिन्धुली घर भएका ४३ वर्षीय श्रेष्ठलाई दिएको हो ।
त्यतिबेला श्रेष्ठले ओखलढुंगा घर भएका रामबहादुर कटुवाललाई ज्यान मार्ने धम्की दिएपछि प्रहरीले पक्राउ गरिएको प्रहरीले बताएको थियो ।
श्रेष्ठले घर निर्माणको लागि कटुवाललाई ठेक्का दिएका थिए । घर निर्माणपछि रकम माग्दा नदिएर उल्टै ज्यान मार्ने धम्की दिएको आरोप थियो । त्यतिबेला प्रहरीले उनीमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर)मा मुद्दा चलाएको थियो ।
त्यस्तै श्रेष्ठले ४ पुस २०७३ मा गणेशकुमार कुँवरलाई बोलाएर कुटपिट गरी रकम लुटेको आरोप थियो ।
उनले कुँवरलाई आफ्ना साथी शुक्रराज तामाङको डेरामा लगेर ५० हजार नगद रुपैयाँ, सुनको औंठी, मोबाइल र कुलबहादुर तामाङको नाममा ११ लाख रुपैयाँको चेक काट्न लगाएको अनुसन्धानबाट खुलेको थियो । त्यतिबेला श्रेष्ठसहित अन्य पाँच जना पनि पक्राउ परेका थिए ।
श्रेष्ठ अपराधको दुनियाँमा भने करिब २० वर्षअघिबाटै प्रवेश गरेको पाइएको छ । पहिलो पटक उनीविरुद्ध २०६३ सालमा मुद्दा चलेको थियो ।
सिन्धुलीको कमलामाई नगरपालिकाका श्रेष्ठले स्थानीय गगन सिंहलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेका थिए । पहिलो पटक सिन्धुलीमा ज्यान मार्ने उद्योगको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो ।
यसअघि १९ चैत २०६४ मा उनीविरुद्ध अर्को मुद्दा चलेको सीआरएसमा देखिन्छ । त्यतिबेला कमलामाई नगरपालिकाकै विजय मुनाललाई हतियार प्रहार गरी घाइते भएको घटनामा उनीविरुद्ध मुद्दा चलेको थियो ।
काठमाडौं महानगरपालिका–३२ का अविनाश रिजालमाथि गोली प्रहार भयो । गोली प्रहार गरी रिजालको हत्या प्रयास गरेको घटनामा जोडिएको भन्दै १७ असोज २०६५ मा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको थियो ।
सिन्धुलीकै स्थानीय राजन घिसिङमाथि कुटपटि गरेको उजुरीको आधारमा श्रेष्ठमाथि अर्को मुद्दा चलेको देखिन्छ । २१ असोज २०६७ मा घिसिङमाथि कुटपिट गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको थियो ।
त्यस्तै १४ फागुन २०७० मा सिन्धुलीकै जीवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको आरोपमा उनीमाथि सिन्धुलीबाट मुद्दा चलेको भेटिन्छ ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी माओवादीमा प्रवेश गरेका थिए । त्यसपछि उनी वाईसीएलको केन्द्रीय सदस्य हुँदै सिन्धुलीको जिल्ला इन्चार्ज भए । माओवादी एमाले मिलेर २०७५ सालमा नेकपा बनेपछि उनी नेकपा निकट युवा संघको सिन्धुली सह–इन्चार्ज बनेका थिए ।
रामबहादुर थापा बादल गृह मन्त्री रहेका बेला उनी बादलसँग निकट भएर ठेक्कापट्टा र असुलीमा लागेको आरोप थियो ।
नेकपा विभाजन भएपछि उनी एमालेमा रहे । त्यसयता उनी एमालेमै छन् र अहिले भोलेन्टियर्स फोर्सको जिम्मेवारीसम्म पाए । अनलाइनखबरबाट