काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको बहस महाधिवेशन चुनाव अगाडि गर्ने कि पछाडि भन्ने मात्र नरहेको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै थापाले बहस पार्टी सुधार गर्ने कि नगर्ने भन्नेमा केन्द्रित रहेको बताए ।
'अहिले (पार्टी)भित्र चलिरहेको बहस अधिवेशन अगाडि कि पछाडि गर्ने भन्ने होइन, पार्टी सुधार गर्ने कि नगर्ने भन्ने हो । त्यो सुधारको एजेन्डा मेरो एजेन्डा हो र हामी त्यसका लागि पार्टीभित्र लडिरहेका छौं- यो कुरा तपाईंले बुझिदिनुपर्छ,' थापाले पार्टी पंक्ति र बाहिर रहेका समर्थकहरूलाई सम्बोधन गर्दै भने ।
उनले यथास्थितिमा कसरी भोट माग्न जाने भनेर कार्यकर्ता पंक्तिलाई प्रश्न गरेका छन् ।
'एकछिन सोचौं- हामीले अहिले अडान छाडिदियौं भने के हुन्छ ? पार्टीभित्र केही पनि सुधार हुँदैन । सुधार नभएर हामी सबै कुरा छोडेर चुनाव भनेर मात्र गयौं, मानौं । यही नेता, यही नीति, जस्ताको तस्तै पार्टी राखेर चुनावमा तल भोट माग्न जाँदा तपाईंहरूलाई नै जानुपर्ने हो नि ! तपाईंहरू भोट माग्न जान सक्नुहुन्छ?'
उनले आफूहरू अब कुनै हालतमा नझुक्ने पनि बताएका छन् ।
'तपाईंहरूले ठूलो भरोसा दिनुभएको छ । केही समय लाग्ला, निर्णय थोरै ढिलो होला, तर निर्णय गलत हुन दिन्नौं । गलत हुने छुट कसैलाई छैन । र, योपटक हामी झुक्दैनौं, झुक्किन्नौं,' थापाले भनेका छन् ।
थापाको अपिल :
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज २८ गतेदेखि शुरू भएको छ । अहिले टुंगिएको छैन । कहिले टुंगिने हो निश्चित पनि छैन । हाम्रो बैठक बस्छ, सर्छ र बैठकमा पहिला निर्वाचन कि पहिला अधिवेशन, नियमित कि विशेषजस्ता विषयमा मात्रै छलफल हुन्छ । आरोप-प्रत्यारोप चल्छ ।
यो कुरा सुन्दा, हेर्दा तपाईंहरूलाई कत्तिको वाक्क लागेको होला ! नलाग्ने कुरा पनि भएन । यस्तो नहुनुपर्ने थियो, तर भइरहेको छ । तर, यसबाट वाक्क लाग्दै जाँदा हामीले एउटा कुरा बिर्सेका छौं कि भन्ने लाग्छ । यसको अर्को पाटो पनि छ । त्यही पाटो आज म तपाईंहरूलाई बताउन चाहन्छु ।
पार्टीको औपचारिक संरचनाभन्दा बाहिर रहनुभएका हाम्रा समर्थकहरू, शुभेच्छुकहरू, नागरिकहरू, मतदाताहरू र पार्टीसँग सम्बन्ध नभएका व्यक्तिहरू पनि हुनुहुन्छ- सिनियर्सहरू हुनुहोला, नौजवानहरू हुनुहोला । पार्टीभित्र भइरहेको छलफललाई तपाईंले अर्को कोणबाट पनि हेरिदिनुपर्छ ।
अधिवेशन, चुनाव, विशेष, नियमित- यी सबै प्राविधिक कुराहरू हुन् । यसलाई बिर्सिदिनुहोस् । मुख्य कुरा के हो भने नेपाली कांग्रेसभित्र अहिले दुईवटा विचारबीच संघर्ष चलिरहेको छ । त्यो विचारको संघर्ष के हो, त्यसलाई चाहिँ बुझ्नुपर्छ ।
एकथरि साथीहरू भन्नुहुन्छ- जे भइरहेको छ ठीक छ । चैत २३-२४ को घटना अब बिर्सौं । असोज ८४ को चुनाव आउन लागेको थियो, असोज ८२ मा अगाडि सर्यो । चुनावमा जाऔं, भोट मागौं, जितौं । म यसलाई सही वा गलत भन्दिनँ ।
तर, विश्वप्रकाश शर्मा, म लगायतका साथीहरूले पार्टीका साथीहरू र पार्टीभन्दा बाहिरका मानिसहरूसँग धेरै कुराकानी गर्यौं । कति टेलिफोन र सन्देशहरू आए । यी सबैबाट हामीले पाएको सन्देश के हो भने- भदौ २३-२४ को घटना नेपाली कांग्रेसका लागि एउटा स्पष्ट सन्देश हो: रोकिनुहोस्!
तिमीहरू जसरी चलिरहेका थियौ, त्यो ठीक छैन । तिमीहरू जसरी काम गरिरहेका थियौ, त्यो ठीक छैन । तिमीहरू बदलिनुपर्छ । नबदलिए अहिलेसम्म हामीले तिमीहरूलाई हालेको भोट बदल्छौं ।
ठूलो निराशा छ । हामीसँग धेरै प्रश्नहरू छन्, धेरै सुधार भइदेओस् भन्ने चाहनाहरू छन् । त्यसैले तपाईंहरूकै कुरा सुनेर हामी पार्टीभित्र भनिरहेका छौं- हामी भोट-भोट भनेर मात्र नकुदौं । हामी केहीबेर अडिऔं, रोकौं र सोचौं । तपाईंहरूले भन्नुभएको कुरालाई मनन गरौं । त्यसबाट सुधार गर्नुपर्ने कुराहरू सुधार गरौं, नयाँ कुराहरू सोचौं, आफूलाई नयाँ बनाएर लैजाऔं ।
हाम्रो मूल मूल्यमान्यताहरू- स्वतन्त्रता, समानता, सामाजिक न्याय, यी बदलिन्नन् । हामी यसप्रति गौरव गर्छौं । तर यसबेला नागरिकहरू हामीसँग किन रिसाएका छन् भन्ने बुझ्नुपर्छ, त्यसको आधारमा आफूलाई सच्याउनुपर्छ । यो सच्चाउने काम भनेको भदौ २३-२४ मा नागरिकहरूले व्यक्त गरेको आक्रोशप्रति सम्मान हो ।
त्यसैले अहिले भित्र चलिरहेको बहस अधिवेशन अगाडि कि पछाडि गर्ने भन्ने होइन, पार्टी सुधार गर्ने कि नगर्ने भन्ने हो । त्यो सुधारको एजेन्डा मेरो एजेन्डा हो र हामी त्यसका लागि पार्टीभित्र लडिरहेका छौं- यो कुरा तपाईंले बुझिदिनुपर्छ ।
पार्टीको विभिन्न तहमा बसेर काम गरिरहेका साथीहरू, तपाईंहरूले अहिले धेरै सन्देश पठाइराख्नुभएको छ । यति लामो समय किन लागेको भनेर आत्तिनुभएको छ, रिसाउनुभएको छ । म यो बुझ्छु । अरू पार्टीहरू आइसके- कोही आन्दोलनमा, कोही भोट माग्न ।
तर, एकछिन सोचौं- हामीले अहिले अडान छाडिदियौं भने के हुन्छ? पार्टीभित्र केही पनि सुधार हुँदैन । सुधार नभएर हामी सबै कुरा छोडेर चुनाव भनेर मात्र गयौं, मानौं । यही नेता, यही नीति, जस्ताको तस्तै पार्टी राखेर चुनावमा तल भोट माग्न जाँदा तपाईंहरूलाई नै जानुपर्ने हो नि ! तपाईंहरू भोट माग्न जान सक्नुहुन्छ?
तल हाम्रा साथीहरू, हिजो हामीलाई भोट हालेका मानिसहरू कांग्रेस आउँछ र भोट हालौं भनेर कुरेर बसिरहेका छन् र? तपाईंहरूले भन्नुभएको छ- छैनन् । त्यसोभए हामीले अहिले लिइरहेको अडान ठीक छ कि छैन ? यसरी हेरिदिनुहोस् । यो अडान निरन्तरतालाई रोकेर रूपान्तरणमा जाने कुरा हो ।
कतिपय साथीहरू भन्नुहुन्छ- अधिवेशन भनेको के हो र? यसले सभापति फेर्छ, नेता फेर्छ । त्यो होइन । कतिले भन्नुहुन्छ- हामीले ढिलो गर्यौं भने हार्छौं । हार्ने कुराको डर के हो र? कतिले भन्नुहुन्छ- पार्टी फुट्छ । सत्यको पक्षमा उभिँदा फुट्दैन, झन् जुट्छ, झन् शक्ति बढ्छ ।
हाम्रो प्रयास नेपाली कांग्रेसलाई सुधार्ने, सान्दर्भिक बनाउने, ठीक ठाउँमा उभ्याउने हो । भोट माग्न जानुभन्दा पहिले मतदातालाई भोट माग्न योग्य नेपाली कांग्रेस बनाउनुपर्छ, किनकि सुधार पहिला, त्यो सुधारले विश्वास सिर्जना गर्छ र त्यो विश्वासबाट भोटको शक्ति आर्जन गर्छौं । त्यो गर्ने क्रममा यो पटक हार्यौं भने हारौंला, तर ठीक ठाउँमा उभिनुपर्छ ।
त्यसैले म पार्टीको तल्लो तहमा र विभिन्न तहमा बसेर काम गरेका साथीहरूलाई आग्रह गर्छु- तपाईंहरूले धैर्य राख्नुपर्छ । नियमित काम गरिराख्नुहोस् । हामी चुनावमै जाने हो, त्यसभन्दा अर्को विकल्प छैन । त्यो पनि नागरिकलाई बताउनुहोस् र आफ्नै पार्टीको समितिभित्र पनि व्यापक संवाद गर्नुहोस् । हाम्रो बीचमा अहिले संवाद भइरहेको छैन, तर गर्नुपर्छ ।
आफ्नोभित्र मात्र होइन, पार्टीभन्दा बाहिर पनि । हाम्रो काम, हाम्रो चरित्र भनेको समाजमा, सबै ठाउँमा, समुदायमा सद्भाव कायम गर्ने हो, उत्तेजना फैलाउने होइन ।
यसका लागि तपाईंहरूले पार्टीभन्दा बाहिर पनि अरू पार्टीका साथीहरूसँग कुराकानी गर्नुहोस्, नयाँ साथीहरूसँग कुराकानी गर्नुहोस्, नौजवानहरूसँग कुरा गर्नुहोस्, उनीहरूको कुरा सुन्नुहोस् । यसले हामी सबैलाई मद्दत पुर्याउँछ ।
तपाईंले ठूलो भरोसा दिनुभएको छ । केही समय लाग्ला, निर्णय थोरै ढिलो होला, तर निर्णय गलत हुन दिन्नौं । गलत हुने छुट कसैलाई छैन । र, यो पटक हामी झुक्दैनौं, झुक्किन्नौ।