नेपालको समूहमा रहेको बंगलादेशले बहिष्कार गर्‍यो टी–२० विश्वकप

khaptadpress.com

 काठमाडौं। बंगलादेशले आगामी आईसीसी पुरुष टी–२० विश्वकपमा भाग नलिने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो माग पूरा नगरेपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) टी–२० विश्वकप बहिष्कार गर्ने निर्णय लिएको हो ।


बीसीबीका पदाधिकारीले सरकारी अधिकारीसँग छलफल गरेपछि यस्तो निर्णय लिएको समाचारमा जनाइएको छ । बीसीबीले औपचारिक रूपमा भने यसको घोषणा गर्न बाँकी छ ।

बीसीबीका अधिकारीले भारतमा कुनै पनि हालतमा विश्वकप नखेल्ने र यस विषयमा फेरि आईसीसीसँग अनुरोध गर्ने जनाएका छन् । भारतमै खेल्नु पर्ने भए विश्वकप नै बहिष्कार गर्ने निर्णय बीसीबीले लिएको समाचारमा जनाइएको छ ।

बीसीबीले आगामी विश्वकपको आफ्ना सबै खेल भारतबाट श्रीलंकामा सार्न आईसीसीसँग अनुरोध गरेको थियो । बीसीबीले भारतमा विश्वकप खेल्दा आफ्ना खेलाडी र पदाधिकारी असुरक्षित हुने दाबी गरेको थियो ।

तर, आईसीसीले भने बंगलादेशी टोलीले विश्वकपका सबै खेल भारतमै खेल्नु पर्ने अडान कायम राखेको थियो । टी–२० विश्वकपको १०औं संस्करण आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

उक्त विश्वकपमा नेपाल र बंगलादेश एउटै समूहमा छन् । समूह ‘सी’ मा नेपाल र बंगलादेशसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज र इटाली पनि परेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले तीव्रगतिका बंगलादेशी बलर मुस्तफिजुर रहमानलाई आईपीएल खेल्न अनुमति नदिएपछि विवाद शुरू भएको हो ।

आईपीएल मिनी अक्सनमा बिक्री भइसके पनि मुस्तफिजुरलाई आईपीएलबाट हटाइएपछि बीसीबीले आपत्ति जनाएको थियो ।

यसअघि पाकिस्तानले पनि सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न अस्वीकार गरिसकेको छ । पाकिस्तानको सबै खेल श्रीलंकामा खेलाइँदै छ ।

बंगलादेश अनुपस्थित हुँदा आईसीसीले स्कटल्याण्डलाई विश्वकपमा सहभागी गराउने सम्भावना बलियो छ ।

प्रतिक्रिया